कांग्रेस प्रवक्ता नै भन्छन्' यस्तो पाराले ८४ मा जित्न सकिन्न'

कांग्रेस प्रवक्ता नै भन्छन्' यस्तो पाराले ८४ मा जित्न सकिन्न'

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनधार खस्किँदै गएकाले सुधार नगरे २०८४ मा पार्टी थप कमजोर हुने बताए।

पार्टीको केन्द्रीय समितिको बैठकमा आइतबार बोल्दै डा. महतले पार्टीको मतदाता जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताए।

“हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन्। नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्। यस्तो अवस्थामा परम्परागत जनधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,” उनले भने।

उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रूपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने समेत बनाए। हिन्दु, बौद्ध, किराँत, प्राकृतिक पूजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व कांग्रेसले गर्ने र यही नै पार्टीको राइट टु द सेन्टर रहेको बताए।

"कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन्। तर हामी आस्थावान् छौँ। यही हाम्रो पार्टीको आधार हो," उनले भने "हरेक धर्म मान्नेको अधिकार सुनिश्चित गर्दै यसको संरक्षण गर्न जरुरी छ।”

डा. महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एक अर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेको बताए।

डा. महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाए। उनले, “सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको र यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेको" बताए।

असार २२, २०८२ आइतबार १६:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।