बाढी आउन थालेपछि बल्ल बाँधको निरीक्षणमा गृहमन्त्री लेखक

बाढी आउन थालेपछि बल्ल बाँधको निरीक्षणमा गृहमन्त्री लेखक

काठमाडौं : गत वर्ष महाकालीको बाढीले भत्काएको दुई सय ६० मिटर बाँधको पुनर्निर्माण अझै सकिएको छैन। एक वर्षदेखि बाँध बनाउने काम जारी छ।
 

बाढीले बाँध भत्काएर महाकाली नदी बस्तीतर्फ सोझिएको थियो। यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर बाँध बनाउन नेपाली सेनालाई जिम्मा दिए पनि अर्को मनसुन सुरु हुँदा पनि बाँध बनाउने काम सकिएको छैन।

आइतबार गृहमन्त्री रमेश लेखक त्यही निर्माणाधीन बाँधको स्थलगत अनुगमनमा गए। उनले महाकाली नदी किनारका बस्ती जोगाउन सरकारले विशेष निर्णय गरेर मनसुन अघि नै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरी नेपाली सेनालाई जिम्मा दिएको बताए।

“महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती जोगाउन गृह मन्त्रालयले विशेष निर्णय गरेर बाँध बनाउने जिम्मा सेनालाई दिएको हो "लेखकले भने“यहाँ बजेट अभावले बाँध निमार्णको काम रोकिँदैन। बस्ती जोगाउन सरकारले चाहिने जति बजेट दिन्छ।"

गत वर्षको बाढीले महाकाली नदीमा बनेको चार लेन पुल र बस्ती नै जोखिममा पारेको थियो। लगत्तै सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिए पनि एक वर्ष हुँदा पनि काम सम्पन्न भएको छैन।

असार २२, २०८२ आइतबार १६:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।