ससुराली पुगेका ज्वाइँले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेपछि...

इटहरी : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोत्लेखानीमा आइतबार राति एक हृदयविदारक घटना घट्यो। ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरा, सासु, श्रीमती र सालोलाई चक्कु प्रहार गरी हत्या गरे। आफैं पनि गम्भीर घाइते अवस्थामा फेला परेका राईको अवस्था नाजुक छ।
घटनामा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, श्रीमती र सालोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले पुष्टि गरेको छ।
प्रहरीका अनुसार घटना भएपछि राजेन्द्र राईले नै फोनमार्फत खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले उनलाई रामप्रसादराई-१, हुर्बु भञ्ज्याङस्थित सडक छेउमा पेटमा तीन ठाउँमा गहिरो चक्कु लागेर रगताम्य अवस्थामा फेला पारेको हो।
घटनाबारे वडा अध्यक्ष राजकुमार तामाङले जानकारी दिँदै चारै शवको कानुनी प्रक्रिया अघि बढाइएको र अनुसन्धान जारी रहेको बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार राजेन्द्रले हत्या गरेपछि आत्महत्याको प्रयास गरेका हुन्। तर घाइते अवस्थामै दिएको बयानमा उनले भने सासु मञ्जु गिरीले आफूलाई चक्कु प्रहार गरेपछि आफूले प्रतिकारमा चारै जनामाथि प्रहार गरेको दाबी गरेका छन्।
जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएकाले उनलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ। प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईको पेटमा गहिरो चोट लागेको छ।
वडाका सदस्य जीवन जर्गा मगरका अनुसार राजेन्द्र राई करिब एक सातादेखि ससुरालीमै बस्दै आएका थिए। घटनाको कारण पारिवारिक विवाद भएको प्रारम्भिक अनुमान गरिएको छ।
असार २२, २०८२ आइतबार १४:२६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।