रुपन्देही-३ मा लेखनाथ गैरेले घोषणा गरे स्वतन्त्र उम्मेदवारी, कुलमानदेखि सागर ढकालसम्मको चर्चा

बुटवल : आगामी कार्तिक १७ गते हुने रुपन्देही-३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। आइतबार बुटवलमा पत्रकार सम्मेलनमार्फत गैरेले पुराना दलहरूको एकाधिकार तोड्न स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरे।
बुटवल-१९ मोतीपुरका गैरे समाजसेवी युवाका रूपमा परिचित छन्। मुलुकलाई पुराना दलहरूले बन्धक बनाएर जनतालाई सधैं गुमराहमा राखेको भन्दै त्यो एकाधिकार तोड्नका लागि काम गर्न उम्मेदवारी रहने उनको भनाइ छ।
हालसम्म कुनै पनि राजनीतिक दलको आफूले सदस्यता नलिएको बताउँदै उनले समग्र विकास, बजेटको सही परिचालन र सुशासनका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहने बताए।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनीसँग जोडेर पर्यटनको विकासकासाथै अधुरा र अपूरा योजना आफ्नो घोषणापत्रमा प्राथमिकतामा राखेको बताए।
कृषिमा व्यवसायीकरण, पशुपालन, ढुंगा गिट्टी बालुवाको चोरी निकासीलाई नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली र चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान आफ्नो एजेन्डा रहेको उनको भनाइ छ।
२०५० सालदेखि मोतीपुरमा बस्दै आएका गैरेले आफ्नो उम्मेदवारी घोषणा कुनै पनि राजनीतिक दलहरूसँग बार्गेनिङका लागि नगरिएको बताए।
‘स्थानीयको साथ र सहयोगले नै आज उम्मेदवारी घोषणा गरेको हुँ। म कुनै पनि हालतमा पछाडि हट्दिन’ उनले भने।
गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरे पनि सो क्षेत्रबाट अझै दलहरूले कसलाई टिकट दिने निश्चित छैन।
कुलमानदेखि सागर ढकालसम्मको चर्चा
निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै तत्काल रुपन्देही–३ मा दलहरू केन्द्रित बनेका छन्। पुराना दलहरू र नयाँ उदाउँदै गरेका दलहरू पनि पर्ख र हेरको अवस्थामा छन्।
२०८४ सालमा हुने आमनिर्वाचन अगाडि हुन लागेको यो निर्वाचन दलहरूका लागि 'टेस्ट परिक्षा' जस्तै हुनेछ।
गएको निर्वाचनमा विजयी भएका स्व. दीपक बोहोराको मृत्यु पछि हुन लागेको निर्वाचनमा एमालेबाट पोलिटब्यूरो सदस्य हिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर प्रमुख हरि अधिकारी, एमालेका दधिराम न्यौपानेको नाम चर्चामा छ।
काङ्ग्रेसबाट भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणदेखि भरत शाह, प्रमोद यादव, पुष्पा चौधरीसम्मको चर्चा छ।
खाँण निर्वाचनको समयसम्म आफ्नो मुद्दा किनारा लगाएर भएपनि उम्मेदवार हुन चाहन्छन्। उनी यो निर्वाचनबाट राजनीतिमा 'कमब्याक' गर्ने योजनामा छन्।
परिवारवादको आरोप समेत खाँणलाई लाग्ने गरेको छ। खाँणकी श्रीमती मञ्जु खाँण अहिले संघीय सांसद छिन् भने सहोदर भाइ रामकृष्ण खाँण तिलोत्तम नगरपालिकाका नगर प्रमुख हुन्। त्यैसैले काङ्ग्रेसकै एक पक्ष खाँणलाई अब रोक्नुपर्ने बताउँदै आएका छन्।
अघिल्लो निर्वाचनमा एमाले-राप्रपा गठबन्धनबाट बोहोरा निर्वाचित भएकाले यस पटक एमालेले एक्लै उम्मेदवार उठाउने गृहकार्य गरेको छ। यद्यपि केन्द्रमा काङ्ग्रेस–एमाले गठबन्धन भएकाले दलहरूले के निर्णय गर्छन् यसै भन्न सक्ने अवस्था छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्व. बोहोराकै दुई छोराहरू गौरव बोहोरा र प्रज्ज्वल बोहोराको नाम चर्चामा छन्। गौरव र प्रज्ज्वल दुई फरक-फरक आमाका सन्तानहरू हुन्। त्यस बाहेक बोहोराकी नातिनी स्वाती थापाको पनि नाम चर्चामा छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको गठबन्धन हुने चर्चा छ। यदि त्यसो भएमा नेकपा एसका महासचिव घनश्याम भुसाल वा युवा अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ।
नागरिक उन्मुक्ति पार्टीबाट भने नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङको चर्चा छ। सात मधेस केन्द्रित दल सम्बद्ध संघीय लोकतान्त्रिक मोर्चा पनि उपनिर्वाचन केन्द्रित छलफलमा गत हप्ता नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले घिसिङलाई रुपन्देही–३ मा साझा उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए।
यो प्रस्तावसँगै घिसिङको नाम चर्चामा आएको हो। अन्य दलहरूले पनि रुपन्देही–३ को निर्वाचनलाई २०८४ को पूर्व तयारीका रूपमा लिएकाले चर्चित पात्रहरूको खोजी गरिरहेका छन्।
कुलमानलाई नागरिक उन्मुक्तिले चर्चामा ल्याए पनि घिसिङ आफै तयार छन् कि छैनन् भन्ने कुरा खुलेको छैन। तर, घिसिङलाई रुपन्देही–३ मा ल्याउन नेकपा माओवादी भित्र पनि छलफल चलेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला जनार्दन शर्मा मन्त्रीहुँदा घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाले माओवादी भित्र घिसिङको नाम चर्चामा छ। उज्यालो नेपालको नायकका रूपमा घिसिङलाई उठाउने बारेमा माओवादीले तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी पहिले एमाले, काङ्ग्रेसका उम्मेदवार कस्ता हुन्छन् त्यसपछि मात्र उम्मेदवारलाई चर्चामा ल्याउन खोजेको छ। उम्मेदवार अहिले आफै खुलेका छैनन्।
गएको निर्वाचनमा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई डढेल्धुरामा टक्कर दिएका सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव उठ्ने संकेत आफैले गरेका छन्।
यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू ढकाल उम्मेदवार हुने कुनै सम्भावना नरहेको बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नं. ३ का सभापति मधु अर्याल, सहकारी अभियन्ता ज्ञानु पौडेल लगायतको नाम चर्चामा छ। कतिपयले दीपक बोहोराका दुई छोरामध्ये बुद्ध एयरका पाइलट गौरव बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न सक्ने चर्चा गरेका छन्।
यस्तो छ यो क्षेत्रको विगत
यस क्षेत्रबाट २०४८ सालमा काङ्ग्रेसका रामकृष्ण ताम्राकारले जितेका थिए। २०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए। उपाध्यायको निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जिते। २०५६ सालमा फेरि काङ्ग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना हुँदा बालकृष्ण खाँण नेपाली काङ्ग्रेसबाट निर्वाचित भए।
२०७० सालमा दीपक बोहोरा राप्रपाबाट, २०७४ मा घनश्याम भुसाल नेकपा एमालेबाट र २०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा यो क्षेत्रमा विजयी भए।
२०७४ सालमा नेपाली काङ्ग्रेसले राप्रपाका नेता दीपक बोहोरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिकमा राखेको थियो, तर नेकपा एमालेका तर्फबाट घनश्याम भुसालले ३२,८६६ मत ल्याएर जित्दा बोहोराले २७,४२६ मत ल्याएका थिए। उक्त समयमा एमाले र नेकपा माओवादी मिलेर लडेका थिए।
यस्तो छ रुपन्देही–३
२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यस निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।
रुपन्देही-३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तम नगरपालिकाको १३ र १४, र बुटवल उपमहानगरपालिकाको १४ देखि १८ वडा समेटिएको छ।
२०७९ मा समानुपातिक मतको केही तथ्यांक
२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले २० हजार २७८ मत पाएको छ। एमालेले १६ हजार ६८६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार १५४ मत पाएको छ। राप्रपाले भने जम्मा ८ हजार १८३ मत पाएको थियो।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो। लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७०, माओवादी केन्द्रले २ हजार ६० सय, जनमुक्ति पार्टीले १ हजार ९०, हाम्रो नेपाली पार्टी लौराले १ हजार ३४६ र नेकपा एसले ७८१ मत पाएका थिए।
प्रत्यक्ष लडेका अन्यले कति पाएका थिए मत?
हाम्रो नेपाली पार्टी बाट प्रख्यात बन्जाडेले १ हजार ३८४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवारी दिएका केशव बिक्रम खड्काले एक हजार ५६ मत पाएका थिए।
राष्ट्रिय जनमुक्ति पार्टीका मोहिब अली मुस्लमानले ५५१, मंगोल नेशनल अर्गनाइजेशनका तेजकुमारी आलेले २१९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सरास्वती धोबी धवलले १४१, नेपाल मजदूर किसान पार्टीबाट सरु बिकले ५६ मत पाएकी थिइन्।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका गुडिया पथरी कट्टले ३४, इशरात अली किफरले ३२, नरेश बहादुर क्षेत्रीले २०, राजीव शाहले १७, रमेश गैरे, देवराज न्यौपानेले १४/१४, नवाब मुस्लमानले १३ मत ल्याएका थिए। यसैगरी नारायण प्रसाद शर्माले ११ मत, घनश्याम भट्टराई १० र जिवकान्त कापली ८ मत प्राप्त गरेका थिए।
असार २२, २०८२ आइतबार १३:५६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।