बिमलेन्द्र निधिले जनकपुरलाई व्यक्तिगत स्वार्थको बन्दी बनाएको महासेठको आरोप

बिमलेन्द्र निधिले जनकपुरलाई व्यक्तिगत स्वार्थको बन्दी बनाएको महासेठको आरोप

जनकपुरधाम : एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि जनकपुरधामको विकास रोक्ने उद्देश्यले दर्जनौँ अवरोध सिर्जना गरेको आरोप लगाएका छन्।

आईतबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महासेठले रिङ्गरोड निर्माणदेखि डम्पिङ साइट स्थापना, अन्य पूर्वाधार निर्माण जस्ता योजनाहरू निधिकै कारण अघि बढ्न नसकेको दाबी गरे। उनले भने, ‘बिमलेन्द्र निधिले जनकपुरलाई व्यक्तिगत स्वार्थको बन्दी बनाउँदै आएका छन्।’

यसअघि शनिबार नेता निधिले पत्रकार सम्मेलन गर्दै राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा महासेठ दम्पतीले अवरोध गरेको आरोप लगाएका थिए। सो आरोपलाई महासेठले अस्वीकार गर्दै भने, ‘प्रधानमन्त्री ओलीसमक्ष मैले आफैं विकास निर्माणमा गति दिन पहल गरेको हुँ।’ उनले आफु र पार्टीको तर्फबाट विश्वविद्यालय निर्माणमा कुनै आपत्ति नरहेको प्रष्ट पारे।

महासेठले निधिलाई व्यक्तिगत फाइदाका लागि बारम्बार विकास योजनामा अड्चन खडा गर्दै आएको आरोप मात्र होइन, धनुषा प्रहरी प्रशासनमाथि पनि निष्पक्ष कार्य नगरेको गुनासो पोखे। उनले प्रशासनलाई ‘एकपक्षीय ढंगमा काम गर्ने’ आरोप समेत लगाए।

असार २२, २०८२ आइतबार १३:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।