साझा यातायातका चालक र सहचालकको आखा जाँच गर्दा १५ जनामा देखियो दृष्टिदोष समस्या

साझा यातायातका चालक र सहचालकको आखा जाँच गर्दा १५ जनामा देखियो दृष्टिदोष समस्या

काठमाडौं : साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीहरूका लागि आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५ जनामा दृष्टिदोषको समस्या देखिएको छ।

नेपाल नेत्रज्योति संघ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त आयोजनामा शनिबार कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा परीक्षण कार्यक्रम सम्पन्न भएको हो।

नेपाल नेत्रज्योति संघ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार उक्त शिविरमा १७९ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणमा दृष्टिदोष देखिएका १५ जनालाई औषधि, नजिकको चस्मा र कालो चस्मा निःशुल्क वितरण गरिएको उनले बताए।

सभापति पोखरेलले भने, ‘एउटा चालकको आँखाले सयौं यात्रुको आँखाको प्रतिनिधित्व गर्छ। त्यसैले चालकको दृष्टि परीक्षणले दुर्घटना न्यूनीकरणमा ठुलो भूमिका खेल्न सक्छ।’ 

शिविरमा कीर्तिपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा पुर्याएको थियो।

नेपाल नेत्रज्योति संघले जनाएको अनुसार सन् २०२४ को अन्त्यसम्म संघअन्तर्गतका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखाबाट कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई सेवा दिइसकिएको छ। यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया समेत सम्पन्न भइसकेको छ।

असार २२, २०८२ आइतबार ११:५६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।