ट्रम्पसँग टकराव बढेपछि एलन मस्कले गरे नयाँ दल खोल्ने घोषणा, नाम 'अमेरिका पार्टी' राख्ने

ट्रम्पसँग टकराव बढेपछि एलन मस्कले गरे नयाँ दल खोल्ने घोषणा, नाम 'अमेरिका पार्टी' राख्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कडा मतभेद र सार्वजनिक विवादपछि एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन्। उनले आफूले स्थापना गर्ने 'अमेरिका पार्टी' नामक दल दुई ठूला परम्परागत दल डेमोक्र्याट र रिपब्लिकनको विकल्प हुने दाबी गरेका छन्।

मस्कले शनिबार आफ्नै सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘हाम्रो देशलाई बर्बाद पार्ने भ्रष्टाचार र खर्चको मामलामा हामी एक-दलीय शासनमा बाँचेका छौं, यो लोकतन्त्र होइन। आज, ‘अमेरिका पार्टी’ तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिनको लागि गठन गरिएको हो।’

यद्यपि, शनिबारसम्म संघीय निर्वाचन आयोगमा यो पार्टी विधिवत रूपमा दर्ता भएको देखिएको छैन। एलन मस्क अमेरिकामा जन्मिएका होइनन्, त्यसैले राष्ट्रपतिमा उम्मेदवारी दिने योग्यता उनीसँग छैन। उनले पार्टीको नेतृत्व को गर्ने भन्नेबारे भने खुलाएका छैनन्।

गत वर्षको राष्ट्रपतीय चुनावमा ट्रम्पको बलियो समर्थक रहेका मस्क उनलाई जिताउन २५० मिलियन अमेरिकी डलर खर्चिएका थिए। उनी चुनावी सभाहरूमा ट्रम्पसँगै नाच्दै देखिएका थिए र आफ्नो चार वर्षीय छोरालाई ओभल अफिसमा ट्रम्पसँग भेट गराएका थिए।

तर, मे महिनामा मस्क ट्रम्प प्रशासनबाट बाहिरिएपछि सम्बन्ध चिसिएको थियो। मस्कले ट्रम्पको कर तथा खर्च सम्बन्धी नीतिहरूको आलोचना गरेपछि दुबई सार्वजनिक रूपमा आक्रोशित हुँदै एकअर्काविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न थाले।

ट्रम्पले हालै पास गरेको एक कानूनले संघीय खर्च र कर कटौतीमा ध्यान दिएको तर हरित ऊर्जा र टेस्लाजस्ता उत्पादनमा कुनै अनुदानको व्यवस्था नगरेको मस्कको गुनासो छ।

यसै सन्दर्भमा ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमा लेखे, ‘एलन इतिहासमै सबैभन्दा धेरै अनुदान पाउने व्यक्ति हो। अनुदान नभएको भए ऊ सायद अफ्रिकामा फर्किन्थ्यो।’

एलन मस्क हाल टेस्ला, स्पेस एक्स, र स्टारलिंक जस्ता ठूला व्यवसायहरूको मालिक हुन्। यी कम्पनीहरूले अमेरिकी सरकारदेखि युरोपेली रक्षा निकायहरूसम्म सेवा दिँदै आएका छन्।

हालसम्म अमेरिकी राजनीतिमा लिबर्टेरियन, ग्रीन, र पिपुल्स पार्टीजस्ता दलहरूले चुनावमा भाग लिँदा खास प्रभाव जमाउन सकेका छैनन्। तर, मस्कको नाम, प्रभाव र सम्पत्तिका कारण 'अमेरिका पार्टी'ले छिटै जनताको ध्यान तान्न सक्ने अनुमान गरिँदैछ।

तर विश्लेषकहरू भने धेरै पैसा र लोकप्रियता हुँदाहुँदै पनि अमेरिकामा दुईदलीय परम्पराभित्र तेस्रो शक्तिले टिक्न गाह्रो रहेको बताएका छन्। 

असार २२, २०८२ आइतबार ११:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।