स्थानीय संघसंस्थामा नयाँ र स्वतन्त्र उम्मेदवारको पकड, कमजोर बन्दै दलहरू

बुटवल : बुटवल आसपासका विभिन्न साना संघसंस्थाका पछिल्ला निर्वाचनमा परम्परागत राजनीतिक गठबन्धनलाई उछिन्दै स्वतन्त्र र नयाँ धारका उम्मेदवारहरू उदाउँदै गएका छन्।
गएको चैतमा सम्पन्न शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबोट) को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेले काँग्रेस–एमाले गठबन्धनका उम्मेदवार किरण खरेललाई पराजित गरे। ७७५ मतदाता मध्ये ६६१ मत खस्दा पाण्डेले ३६९ मत ल्याएर विजयी भए भने खरेलले २३४ र अर्की उम्मेदवार टिकादेवी आलेले ३९ मत पाइन्।
यस्तै, फागुनमा सम्पन्न नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा अध्यक्षमा कांग्रेस–राप्रपा गठबन्धनकी मीना घर्ती (जीसी) विजयी भइन्। निकटतम प्रतिस्पर्धी एमालेका नामबहादुर कुँवरले ८०८ र स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत पाए। कुल ४७०६ मतदाता मध्ये २६०४ जनाले मात्रै मतदान गरेका थिए।
सामुदायिक विद्यालयतर्फ बुटवलको कान्ति माध्यमिक विद्यालयमा पनि गठबन्धनभन्दा बाहिरका उम्मेदवारले नेतृत्व सम्हाल्ने अवसर पाए। लामो समयदेखि व्यवस्थापन समिति विहीन रहेको विद्यालयमा अन्ततः निर्वाचनमार्फत समिति गठन भयो। १६ जना उम्मेदवार भिडेका ४ सिटमा कमला पन्थी, रामकृष्ण शर्मा, मित्र गिरी र संगीता पोखरेल विजयी भए।
खुला तर्फ बिप्लव निकट रामकृष्ण शर्माले ५१४ र पूर्व माओवादी केन्द्र तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी निकट मित्र गिरीले ४८१ मत पाए। महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक ५८८ र कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत ल्याएर जित हासिल गरिन्। लामो समयदेखि कान्तिको व्यवस्थापन समिति एमालेनिकटका अभिभावकको कब्जामा रहेकोमा यसपटक उनीहरू पराजित भए।
निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५७०० विद्यार्थी रहेको विद्यालयमा ३९७७ मतदाता रहे पनि ११४२ मत मात्र खस्यो। दलबीच सहमति नजुटेपछि जेठ २९ मा बोलाइएको अभिभावक भेला निष्कर्षविहीन भएपछि असार २ मा मनोनयन दर्ता गराएर चुनाव गरिएको थियो।
बुटवल वडा नम्बर ४ का वडाअध्यक्ष एवं विद्यालय संरक्षक नरिश्वर शर्मा पौडेलका अनुसार पटक-पटक सहमतिको प्रयास गरिए पनि निष्कर्ष ननिस्किएपछि अन्ततः निर्वाचनमार्फत समिति चयन गरिएको हो।
अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीका अनुसार सामुदायिक विद्यालयको नेतृत्वमा दलहरूको हस्तक्षेपले शैक्षिक गुणस्तरमा असर गरेको छ। विद्यालय र संघसंस्थालाई पार्टी कार्यकर्ताको सेटलमेन्ट स्थल बनाउने प्रवृत्ति बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। यसअघि सैनामैना र पाखापानी खानेपानी संस्थामा पनि गठबन्धनका उम्मेदवारहरू पराजित भएका थिए।
लेखक देवराज पोखरेल एमाले पछिल्लो समय हारको शृङ्खलाबाट गुज्रिएको भन्दै अब निर्मम समिक्षा गर्नुपर्ने बेला आएको बताए।
‘माथिबाट बजेट हालेको हालेकै गर्ने, तर तिनै संस्थाहरुमा चुनाब हुनै नहुने, हारि हाल्ने! समीक्षा सुन्नै नचाहिने! यहि कार्यशैलीले २०८४ के होला ?’ उनले सामाजिक सञ्जालमा लखेका छन्।
बुटवल क्षेत्रका यी निर्वाचनका परिणामहरूले जनतामा दलहरू प्रतिको वितृष्णा बढेको देखाएको छ। परम्परागत गठबन्धनहरूको पराजय र स्वतन्त्र उम्मेदवारहरूको सफलताले जनताले वैकल्पिक नेतृत्वको खोजी गरिरहेको विश्लेषकहरूको तर्क छ।
असार २२, २०८२ आइतबार १०:३५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।