आज हरिशयनी एकादशी, तुलसीको मोठमा बिरुवा सार्दै विष्णु भगवानको पूजा आराधना गरिँदै

काठमाडौं : आज देशभर हरिशयनी एकादशी पर्व मनाइँदैछ। आषाढ शुक्ल एकादशीका दिन पर्ने यो पर्वबाट चतुर्मासको आरम्भ हुन्छ, जसमा भक्तजनले तुलसीको मोठमा बिरुवा सार्दै विष्णु भगवानको पूजा आराधना सुरु गर्छन् ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सार्ने परम्परा छ। यससँगै चार महिनासम्म विशेष पूजाआजा र व्रतको आरम्भ हुने गर्दछ। सनातन धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतीक मानिन्छ र विष्णु पूजा बिना तुलसीको उपस्थिति अधुरो ठानिन्छ।
तुलसी केवल धार्मिक दृष्टिकोणले मात्र नभई औषधीय गुणका हिसाबले पनि अत्यन्त उपयोगी वनस्पति हो। यसको पात, फूल, बोट सबै स्वास्थ्यका लागि लाभदायी हुने विश्वास गरिन्छ।
आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको मोठमा नियमित पूजा गरिन्छ। यही अवधिलाई चतुर्मास भनिन्छ, जुन भगवान विष्णुको शयनकालको रूपमा लिइन्छ।
एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि सबैमा व्रत गर्न नसक्नेहरूले चतुर्मासभित्र पर्ने आठवटा एकादशीमा व्रत बस्ने चलन छ। कामकाजले व्यस्त रहने वा सम्पूर्ण चतुर्मास व्रत गर्न नसक्नेहरूले कम्तीमा हरिशयनी एकादशी (आज) र कार्तिक महिनाको हरिबोधिनी एकादशीमा व्रत बस्ने परम्परा छ।
पर्वको अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। श्रद्धालुहरू तुलसी रोपेर, फलाहार गर्दै र विष्णु नामस्मरण गरेर यो विशेष दिन मनाइरहेका छन्।
असार २२, २०८२ आइतबार ०९:०१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।