जोखिमपूर्ण बनेको बेँसीसहर-चामे सडक, यात्रुहरू त्रसित

लमजुङ : हिमालपारिको मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य बाटो बेँसीसहर-चामे सडक अहिले झन् जोखिमपूर्ण बन्दै गएको छ। चट्टान काटेर बनाइएको साँघुरो बाटो, माथिको ठाडो पहरा र तल मस्र्याङ्दी नदीको छङ्गाछुर भिरले यो यात्रालाई अत्यन्तै डर लाग्दो बनाइदिएको छ।
यो सडक अहिले पनि धेरै हदसम्म पुरानै प्रविधिमा-घन, छिनो र सावेल प्रयोग गरेर-निर्माण गरिएको छ। डोजर र एक्साभेटरको सहायतामा स्तरोन्नति गर्ने योजना भए पनि अझै ठोस सुधार नहुँदा दैनिक सयौँ यात्रु जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
बर्खायामसँगै झन् जोखिम बढेको छ। ठाउँ-ठाउँमा खस्ने पहिरो, साँघुरा मोड, ग्रेडिङ नमिलेको सडक र भिरालो खण्डले यात्रालाई झनै जटिल बनाइदिएको छ। 'जताततै पहिरो झर्छ, कतिबेला जीपसहित खस्ने हो भन्ने डरले चलाउँछौं,' जीप चालक सोमराज मगरातीको भनाइ छ। अर्का चालक रामबहादुर तामाङ भन्छन्, 'सडकबाट चिप्लिए सिधै मस्र्याङ्दी नदी, बच्ने कुनै सम्भावना हुँदैन ।'
बेँसीसहरदेखि चामेसम्मको ६५ किलोमिटर दुरी पार गर्न झण्डै ६ घण्टा लाग्छ। बीचमा खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे, तालबजार, तिमाङजस्ता बस्ती पर्ने यो सडकमार्ग यात्रु, स्थानीय र पर्यटकहरू सबैका लागि झनिँ चुनौतीपूर्ण हुँदै गएको छ।
स्थानीय सोमबहादुर गुरुङ भन्छन्, 'सडकको अधिकांश भाग चट्टान काटेर बनाइएको छ, ठाउँ-ठाउँमा सडक साँघुरो छ र सुरक्षा पर्खाल पनि छैन । हामी हरेक दिन जोखिमसँग जुध्दैछौं ।'
डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार यस सडकको स्तरोन्नतिको काम बजेट अभावकै कारण ढिलो भइरहेको हो। 'चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ प्राप्त भएको थियो, आउँदो वर्षका लागि ४० करोड विनियोजन गरिँदैछ,' विष्टले बताए। तर जनताले माग गरेजस्तो गुणस्तरीय स्तरोन्नति अझै टाढाको कुरा देखिन्छ।
मनाङवासीको जीवनलाइन मानिने यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदा धेरैले हेलिकप्टरबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता खेपिरहेका छन्। सडक निर्माणको थालनी २०५१ सालमा दमौलीस्थित सडक डिभिजन कार्यालयबाट भएको थियो। तर विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले जिम्मेवारी सम्हालेको थियो। सेनाले जोखिमपूर्ण भिरालो चट्टानमा ज्यानको बाजी राखेर सडक निर्माण सम्पन्न गरेको थियो।
२०६९ सालमा नेपाली सेनाले सडक निर्माण सकाएर सडक डिभिजन कार्यालयलाई जिम्मा दिएको हो। इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको टोलीले सेनाको नेतृत्वमा सडक निर्माण गरेका थिए।
तर सडक निर्माणको दशकौंपछि पनि उचित स्तरोन्नति नहुँदा मनाङ, लमजुङ, देशभित्र–बाहिरका पर्यटक र सामान ओसारपसार गर्ने व्यवसायी सबै चिन्तित छन्।
असार २२, २०८२ आइतबार ०७:३९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।