आजको मौसम अपडेटः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

आजको मौसम अपडेटः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
ai image

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज विभिन्न क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले मौसम बदली रहनेछ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहनुका साथै मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य ठाउँमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। ती प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र कोशी, बागमती तथा लुम्बिनीका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

सावधानी अपनाउ: पहाडी तथा हिमाली भूभागमा सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

असार २२, २०८२ आइतबार ०७:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।