कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन सात ठाउँमा डोजर तैनाथ

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन सात ठाउँमा डोजर तैनाथ
File Photo

मान्म : वर्षायाममा बाढी र पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन सात स्थानमा डोजरसहितका उपकरण तयारी अवस्थामा राखिएका छन्।

सुर्खेतदेखि मुगुसम्मको खण्डमा पहिरो जोखिम हुने स्थान पहिचान गरी सडक तत्काल खुलाउन सकिने गरी पूर्वतयारी गरिएको हो।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्ग अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको हो। सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु खण्डका सात ठाउँमा डोजर तैनाथ गरिएको छ।

सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुमबहादुर भण्डारीले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमा डोजर राखिएको जानकारी दिए। “वर्षायाममा पहिरो वा लेदोले सडक अवरुद्ध हुँदा तुरुन्तै खुलाउने लक्ष्यसहित तयारी अवस्थामा राखिएका हौँ,” उनले भने।

त्यस्तै, कालीकोटदेखि मुगुसम्मको खण्डका लागि सडक डिभिजन कार्यालय जुम्लाले पाँच स्थानमा डोजर राखेको छ।
सडक डिभजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इञ्जिनियर प्रदीपनारायण चौधरीका अनुसार साना ठूला पहिरो आउँदा राजमार्ग बन्द हुन नदिन जनशक्ति र उपकरण सक्रिय तयारीमा राखिएको हो।

उनका अनुसार दैलेख र कालीकोट खण्डमा पहिरो खस्ने सम्भावना अत्यधिक छ। विशेष गरी दैखोला, सुनारखोला, पाल्तडा, पाली र गगनेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको छ।

“वर्षायाममा सानातिना पहिरो नियमित झर्ने भएकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी जरूरी हुन्छ,” चौधरीले बताए।

असार २१, २०८२ शनिबार २२:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।