अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

झापा : झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भई बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएका थिए। तर, उपचार सुरु गर्नुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएकी छन्। उनीहरूको उपचार चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा भइरहेको छ।

अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

असार २१, २०८२ शनिबार २१:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।