बाढी र पहिरोका कारण विभिन्न राजमार्गका सातवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

बाढी र पहिरोका कारण विभिन्न राजमार्गका सातवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
Filephoto

काठमाडौं : लगातारको वर्षापछि देशभरका विभिन्न सडक खण्डमा बाढी र पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार हाल सात जिल्लाका मुख्य सडक पूर्ण रूपमा ठप्प भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याउन सकिएको छ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध बनेको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ मा खसेको पहिरोले बनेपा-नाला-भक्तपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू र स्थानीयवासी प्रभावित भएका छन्। सो क्षेत्रमा सडकमाथिको पुलसमेत भाँचिएको छ, जसले पुनःसञ्चालनको कार्यलाई थप जटिल बनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा खसेको ठूलो पहिरोले अरनिको राजमार्ग नै अवरुद्ध भएको छ। त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा आएको बाढीका कारण भेरी करिडोरमा यातायात ठप्प भएको छ। रुकुमपश्चिमको आठविसकोट नगरपालिका-६ रिजिगारमा पनि बाढीले जाजरकोट-डोल्पा भेरी करिडोर चलायमान हुन सकेको छैन।

जाजरकोटको छेडागाड नगरपालिका-३ दखेरीभिर क्षेत्रमा गएको पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध पारेको छ भने बाजुराको बडिमालिका नगरपालिका-७ ढम्कले भासुपाताल क्षेत्रमा पहिरो खसेर मार्तडी-कोल्टी सडक पूर्ण रूपमा बन्द भएको जानकारी प्राप्त भएको छ।

यसैबीच, बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटे क्षेत्रमा पहिरोले अवरुद्ध बनाएको सहिद राजमार्गलाई भने हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यस्तै, गुल्मीस्थित कालिगण्डकी करिडोर पनि आंशिक रूपमा खुलाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले बाढी र पहिरोबाट क्षति भएका स्थानहरूमा तत्काल उद्धार तथा मार्ग खुलाउने प्रयास भइरहेकाले यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। प्रभावित क्षेत्रमा गाडी सञ्चालन असम्भव भएको हुँदा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्राबाट जोगिन आग्रह गरिएको छ।

असार २१, २०८२ शनिबार २०:१५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।