गिरिजा प्रसाद कोइराला लडाकु हुनुहुन्थ्यो, उहाँ नभएको भए गणतन्त्र आउँदैनथ्यो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई जानुपर्ने बताएका छन्।
शनिबार जय नेपाल फाउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फाउण्डेशन’ शीर्षकको कार्यक्रममा बोल्दै देउवाले कोइरालालाई गणतन्त्र स्थापनाका लागि आवश्यक हिम्मत गर्ने अग्रणी व्यक्ति भएको उल्लेख गरे।
‘गिरिजा प्रसाद कोइराला लडाकु व्यक्ति हुनुहुन्थ्यो,‘ देउवाले भने, ‘उहाँ नभएको भए गणतन्त्र आउँदैनथ्यो। त्यतिखेर मानिसहरूले सोच्न पनि नसक्ने कुरा उहाँले सम्भव बनाउनु भयो। पहिलो संविधानसभा बाट संविधान बन्न नसके पनि गणतन्त्र पारित भएको थियो। त्यसको श्रेय गिरिजा बाबुलाई जान्छ।’
उनले गणतन्त्रात्मक शासन प्रणालीमा विभिन्न चुनौतीहरू आउनु स्वाभाविक रहेको भन्दै समस्याहरूको समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे। देउवाले जलवायु परिवर्तनको सन्दर्भमा हिमाल जोगाउने अभियानमा पनि जोड दिनुपर्ने बताएका थिए।
असार २१, २०८२ शनिबार २०:००:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।