संस्कारको धागा थामिरहेका हातहरू

पोखरा : जनैपूर्णिमा आउन अझै एक महिना बाँकी छ, तर पोखरा महानगरपालिका-३२ का केही ज्येष्ठ नागरिकहरू अहिले नै जनै बनाउने काममा व्यस्त छन्। ८० वर्षीय कृष्णप्रसाद अधिकारी, ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी यसै समय जनै बटार्न चौतारोमा जुटिरहेका छन्।
यी चारै जनाले अहिलेको पुस्तामा जनै बनाउने परम्परागत सीप हस्तान्तरण नहुनु दुःखद भएको बताउँदै त्यसप्रति गहिरो चिन्ता व्यक्त गरे।
सीपको निरन्तरतामा संकट
चौतारोमा बस्दै जनै बनाउने यी ज्येष्ठ नागरिकहरूलाई सिक्न चाहने केही युवाहरू पनि फाट्टफुट्ट आउने गर्छन्। तर, उनीहरूका अनुसार यो सीप गहिरो ध्यान, धैर्यता र समय माग्ने भएकाले धेरैको मन टिक्दैन।
८० वर्षीय अधिकारी भन्छन्, ‘सुरुमा बुबाबाट सिकें, १० वर्षको हुँदा जनै बटार्न थालेँ। त्यसबेलादेखि अहिलेसम्म आफ्नै हातले बनाएको जनै मात्र लगाउँदै आएको छु।’
उनीहरूले बनाएका जनै बेच्नभन्दा पनि परिवारका सदस्यहरूको आवश्यकताका लागि तयार पारिन्छ।
नियमपूर्वक जनै बनाउने कठिन प्रक्रिया
धागोको चयनदेखि ‘ब्रहम ग्रन्थी’ बनाउनेसम्मको प्रक्रिया सजिलो छैन। सानो चर्खा, कतुवा र विशेष विधिको प्रयोगबाट धागो सँगालेर तीनपटक पट्याइन्छ। त्यसपछि शिखा पारिन्छ, जसलाई ‘ब्रहम ग्रन्थी’ भनिन्छ।
जनैमा हुने २७ वटा सरलाहरूलाई अश्विनीदेखि भरणी नक्षत्रसम्मको प्रतीक मानिन्छ। नियमअनुसार बनाइएका जनैहरू विधिपूर्वक संस्कार गरेपछि मात्र लगाउने चलन छ।
६९ वर्षीय गोविन्द कोइरालाले सात वर्षको उमेरमा ब्रतबन्ध गरेदेखि अहिलेसम्म आफ्नै हातले बनाएको जनै मात्र लगाउँदै आएको बताउँछन्। ‘एक दिनमा बढीमा १० जोर जनै मात्रै बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘त्यो पनि नियम मिलाएर बनाउँदा मात्र।’
६७ वर्षीय कृष्णराज अधिकारीले भने बाल्यकालमा आमासँगै किला गाडेर जनै बनाएको अनुभव सुनाए। उनी भन्छन्, ‘सीप हस्तान्तरण नहुनु दुःखद कुरा हो। संस्कार टिकाइराख्न नियमपूर्वक बनाइएका जनै नै लगाउनु उपयुक्त हुन्छ।’
गुरुप्रसाद पौडेलले पनि संस्कार र सीपको पुस्तान्तरण नभए भविष्यमा परम्परा हराउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘नयाँ पुस्तालाई सक्दो सिकाउँदै यस परम्पराको जगेर्ना गर्नुपर्छ,’ उनको जोड छ।
जनै मात्र धागोको गाठो होइन, संस्कृति र पहिचानको सूचक पनि हो भन्ने कुरामा यी ज्येष्ठ नागरिकहरू एकमत छन्। सीपको यो निरन्तरता नयाँ पुस्ताले नलिए यो विशिष्ट परम्परा हराउने खतरा बढ्दैछ।
असार २१, २०८२ शनिबार १८:०३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।