गण्डकी प्रदेश टी-२० महिला क्रिकेटको उपाधि स्याङजालाई

गण्डकी प्रदेश टी-२० महिला क्रिकेटको उपाधि स्याङजालाई

पोखरा : स्याङजाले गण्डकी प्रदेश स्तरीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जित्न सफल भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा स्याङजाले कास्कीलाई ७ विकेटले हराउँदै उपाधि हात पारेको हो।

गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा जितसँगै स्याङजाले नगद १ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको कास्कीले ५० हजार रुपैयाँमा चित्त बुझायो।

५७ रनको लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमै ३ विकेटको क्षतिमा ६० रन बनाउँदै सहज जित दर्ता गर्यो। टिमका लागि सिमाना केसीले २२ बलमा १ चौकासहित अविजित १७ रन बनाइन् भने कुशुम गोदारले १३ बलमा ११ रन जोडिन्। ओपनर श्रेया शाह ५, सलिना सेन ६ र ज्योत्सना मरासिनी ६ रनमा आउट भए। कास्कीका रचना चौधरी र यशोदा भुजेलले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कास्की टिम १६ ओभरमै ५६ रनमा अलआउट भयो। कास्कीका लागि रेखा तामाङले २८ बलमा २४ रन (२ चौका, १ छक्का) बनाइन् भने रचना चौधरीले १४ रनको योगदान दिइन्। अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्याङजाका अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। सिमाना केसीले पनि ४ ओभरमा १३ रन दिँदै ३ विकेट लिइन्।

प्रतियोगितामा सिमाना केसीले 'वुमन अफ दी म्याच', 'सर्वोत्कृष्ट बलर' र 'टुर्नामेन्टकी उत्कृष्ट खेलाडी'को उपाधि हात पारिन्। कास्कीकी सिर्जना पौडेल उत्कृष्ट ब्याटर घोषित भइन् भने सोनिमा पुन मगर ‘उदियमान खेलाडी’को रुपमा छानिइन्।

चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत गरी चार जिल्लाको सहभागिता रहेको थियो।

असार २१, २०८२ शनिबार १७:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।