कसैले देश झुर भयो, सकियो, खत्तम भयो भन्यो भने नपत्याउन गगनको आह्वान

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश खतरामा छ वा देश बर्बाद भयो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।
शनिबार परिवर्तन नेपालले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो धारणा राखे। उनले भने, ‘कसैले देश झुर भयो, सकियो, खत्तम भयो भन्यो भने पत्याइहाल्नु हुँदैन।’
महामन्त्री थापाले देशमा राम्रो काम नभएको होइन तर अपेक्षा अनुसार सबै कुरामा सुधार नभएको स्विकारे। यद्यपि, कुनै पनि मुद्दामा समर्थन वा विरोध गर्नुअघि तथ्य, विश्लेषण र गम्भीर समीक्षाको आधारमा निर्णय गर्नुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा एसइई परीक्षामा सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा थापाले युवा पुस्तालाई मुलुकमै अडिएर केही गर्न, निरन्तर सिकिरहने, प्रश्न गर्न र आलोचना गर्न पनि हिम्मत राख्न प्रेरित गरे। ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्,’ भन्दै उनले युवालाई दृढ बन्न आह्वान गरे।
कार्यक्रमका आयोजक एवम् कांग्रेस नेता सुशील भट्टले एसइई पास गरेका विद्यार्थीहरूलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि युवालाई प्रोत्साहित गर्दै जाने प्रतिबद्धता जनाए।
असार २१, २०८२ शनिबार १७:१२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।