दयाहाङ र प्रकाशको सहकार्यमा ‘मिरमिरे’को छायांकन सुरु

दयाहाङ र प्रकाशको सहकार्यमा ‘मिरमिरे’को छायांकन सुरु

काठमाडौं : नयाँ नेपाली चलचित्र ‘मिरमिरे’ को छायांकन शनिबारदेखि सुरु भएको छ। एक सातासम्म वर्कसपमा जुटेको निर्माण टिम शुक्रबार काठमाडौंबाट छायांकनका लागि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित बल्थली पुगेको थियो।

निर्माण टिमले लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै औपचारिक रूपमा छायांकनको थालनी गरेको हो। निर्देशक यम शेर्पाका अनुसार आजबाट सुरु भएको छायांकन करिब ३५ दिनसम्म चल्नेछ र अधिकांश दृश्य काभ्रेका विभिन्न स्थानमा खिचिनेछन्।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत छन्। बाल–कलाकारका रूपमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेका छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पासँग दयाहाङको दोस्रो पटकको सहकार्य हो। यसअघि यमको निर्देशन रहेको ‘कार्साङ’ मा पनि दयाहाङले काम गरेका थिए।

हालसम्म चलचित्रको कथावस्तु सार्वजनिक गरिएको छैन। निर्देशक यम शेर्पाले फिल्मको निर्देशनसँगै कथा लेखन पनि गरेका छन्। चलचित्रका छायाँकार आलोक शुक्ला हुन्।

‘मिरमिरे’ का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक एवं चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेका फिल्ममा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा संलग्न छन्।

चलचित्र ‘मिरमिरे’ सन् २०८२ मा प्रदर्शनमा आउने तयारीमा छ। रिलिज मिति तय नभए पनि फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

असार २१, २०८२ शनिबार १६:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।