वैदेशिक रोजगारीको नाममा १२ लाख ठगी गर्ने पक्राउ, दुई फरार प्रतिवादी पनि समातिए

वैदेशिक रोजगारीको नाममा १२ लाख ठगी गर्ने पक्राउ, दुई फरार प्रतिवादी पनि समातिए

काठमाडौं : वैदेशिक रोजगारीको लोभ देखाएर ठूलो रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। लक्जेम्बर्ग पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम असुली सम्पर्कविहीन भएका नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

चौधरीले दुई जना पीडितबाट करिब १२ लाख रुपैयाँ लिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार ललितपुर महानगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो।

यसैबीच, बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादी पनि पक्राउ परेका छन्।

सिन्धुली दुधौली नगरपालिका–८ का ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ का ३६ वर्षीय सुनिल लामा पक्राउ परेका हुन्। प्रलादलाई काठमाडौँ महानगरपालिका–७ चावहिल गङ्गाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, प्रलाद खड्कालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ भने सुनिल लामालाई इलाका प्रहरी कार्यालय सिमरा, बारामा बुझाइएको छ।

असार २१, २०८२ शनिबार १६:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।