अमेरिकाको टेक्सासमा बाढीका कारण २५ जनाको मृत्यु, दर्जनौं बालिका बेपत्ता

अमेरिका : अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानकको बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। ग्वाडालुपे नदी आसपासको क्षेत्रमा आएको भीषण बाढीका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ भने २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कविहीन छन्।
ग्वाडालुपे नदी किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी झन्डै ७५० बालिकामध्ये २३ जना बेपत्ता भएको जनाइएको छ। बाढीपछि शिविर क्षेत्रमा पानी, विद्युत् र सञ्चार सेवा पूर्णरूपमा बन्द भएको शिविर प्रमुखको सन्देशमा उल्लेख छ।
केर काउन्टीका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत अझै केही व्यक्ति हराइरहेका हुन सक्ने भन्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार मृतकमध्ये केही बालबालिका पनि परेका छन्।
उनले बताएअनुसार, ग्वाडालुपे नदीको सतह एकैचोटि करिब ८ मिटर (२६ फिट) ले बढेपछि शिविर डुबानमा परेको थियो।
घटनापछि उद्धारकार्य तीव्र पारिएको छ। सयौं सुरक्षाकर्मी र दर्जनौं हेलिकप्टर तथा उड्ने साधनमार्फत उद्दार जारी रहेको अधिकारीहरूले जनाएका छन्। उद्धार टोलीहरू रातदिन प्रभावित क्षेत्रमा खटिएका छन्।
स्थानीय प्रशासनले सबै नागरिकलाई बाढी प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ, किनभने धेरै सडकहरू अझै पनि अवरुद्ध अवस्थामा छन्।
जलवायु विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, आँधी, खडेरी र गर्मीका लहरहरू बढी आवृत्तिमा र तीव्रताका साथ देखिन थालेका छन्। टेक्सासको यो बाढी पनि त्यही प्रवृत्तिको उदाहरण भएको उनीहरूको भनाइ छ।
असार २१, २०८२ शनिबार १६:१९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।