भिडियो कलमा महिला फुटबल टिमलाई ओलीले भने- ‘हेल्लो साम्बा एन्ड टिम, विस यु अल द बेस्ट’

काठमाडौं : एफसी महिला एसियन कप छनोटको निर्णायक फाइनल खेलमा उज्वेकिस्तानसँग खेल्न लागेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारबाट ‘भर्चुअल’ माध्यममार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन्।
भर्चुअल कार्यक्रममा प्रधानमन्त्रीले खेलाडीहरूलाई सम्बोधन गर्दै, ‘हेल्लो! साम्बा एन्ड टिम, विस यु अल द बेस्ट...’ भनेर जितको शुभकामना दिँदा टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) उठेर नमस्कार गर्दै हात हल्लाइन्। अन्य खेलाडीहरूले पनि ताली बजाउँदै प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई पनि सहभागी थिए। सबैले प्रधानमन्त्रीको हौसलाबाट उत्साहित भएको प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्री ओलीले नेपाली महिला टोलीको श्रीलङ्काविरुद्धको प्रदर्शनको प्रशंसा गर्दै उज्वेकिस्तानसँगको फाइनलमा नेपालले जित्ने विश्वास व्यक्त गरे। ‘तपाईंहरूमा जितको मनोबल छ, हामी जित्नेछौं,’ उनले भने, ‘यो खेल नेपाली महिला फुटबलको ४० वर्षे इतिहासमा नयाँ टर्निङ पोइन्ट हुनेछ।’
प्रधानमन्त्रीले आफ्नो हालैको स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको रंगशाला अवलोकन गरेको उल्लेख गर्दै, नेपालमा पनि त्यसअनुरूपको पूर्वाधार विकास गर्ने सोचमा आफू रहेको जानकारी दिए। उनले खेल क्षेत्रलाई खर्च होइन, आम्दानीको स्रोतको रूपमा लिनुपर्नेमा पनि जोड दिए।
एन्फा अध्यक्ष नेम्वाङले प्रधानमन्त्रीको शुभकामनाका लागि धन्यवाद दिँदै, स्पेन भ्रमणमा देखिएको खेलप्रतिको रुचिले आफूहरूलाई थप प्रेरणा मिलेको बताए।
असार २१, २०८२ शनिबार १५:५८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।