डा. अमरेशको उपचार अनुभव : गर्भमा मृत शिशु बोकेकी ६ सन्तानकी आमाको जोखिमपूर्ण शल्यक्रिया गर्दा...

डा. अमरेश कुमार महतो जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीइएम) विशेषज्ञ हुन्। उनले विशेषगरी दुर्गमका बिरामीहरूले दुःख पाएको नजिकबाट नियालेका छन्। उनै डा. अमरेशले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
शल्यक्रिया गर्दा पाठेघरको पछाडिको भागसम्मै च्यातिएपछि...
चिकित्सकीय पेशाको शिलशिलाका सबै अनुभव सुखद हुँदैनन्। कतिपय अनुभव अकल्पनीय दुःखद हुन्छन्। पेशाका शिलशिलामा चिकित्सकले यस्ता उतारचढाव र चुनौतीको सामना गरिरहनु पर्छ।
डा. अमरेशले पेशाको शिलशिलामा गाइघाट स्थित उदयपुर जिल्ला अस्पतालमा काम गर्दाको यस्तै एउटा घटना सुनाए। घटना केही वर्ष अघिको मात्रै हो। जतिबेला उनी त्यहाँ छात्रवृत्ति करारमा काम गरिरहेका थिए।
डा. अमरेश ड्यूटीमै थिए। एक दिन प्रसव वेदनाले छटपटाइरहेकी करिब ४० वर्षकी गर्भवती महिलालाई उदयपुर अस्पताल पुर्याइयो। पहाडतिरको गाउँबाट लामो यात्रापछि ती महिलालाई अस्पताल पुर्याइएको थियो। डा. अमरेशले ती छटपटाइरहेकी गर्भवतीको अवस्था हेरे।
ती महिलाले त्यसअघि ६ जना सन्तानलाई जन्म दिइसकेकी थिइन्। उनी सातौं सन्तानलाई जन्म दिने तयारीमा थिइन्।
ती महिलाले सातौं सन्तानको रूपमा जन्माउने तयारीमा रहेको गर्भको बच्चाको एउटा हात बाहिर निस्किएको थियो। तर, बच्चा जन्माउन सकेकी थिइनन्।
दुर्भाग्य, स्वास्थ्य परीक्षण गर्दा ती महिलाको गर्भको त्यो बच्चाको मृत्यु भइसकेको थाहा भयो। तुरुन्तै शल्यक्रिया गरी गर्भको बच्चा ननिकाल्ने हो भने आमाको पनि ज्यान जाने करिब निश्चित नै थियो।
त्यसैले आमाको ज्यान बचाउनका लागि शल्यक्रिया गरेर तुरुन्तै गर्भको मृत बच्चा निकाल्नुपर्ने अवस्था थियो। तर, स्रोत साधन र जनशक्ति लगायतको समस्याका कारण उदयपुर अस्पतालमा शल्यक्रिया गरेर गर्भको मृत बच्चा निकाल्न निक्कै जोखिम थियो। त्यसैले डा. अमरेशको टिमले त्यहाँ शल्यक्रिया गर्दा हुने जोखिमको विश्लेषण गरेर तुरुन्तै अन्य सुविधायुक्त अस्पतालमा रिफर गर्नु नै उचित हुने देख्यो।
तर, ती प्रसव पीडामा छटपटाइरहेकी महिलाको परिवारको आर्थिक अवस्था निक्कै कमजोर रहेछ। गाइघाटमा त जेनतेन पुर्याएछन्। त्यहाँबाट अन्य अस्पतालमा लान पैसा नै रहेनछ।
बिरामीको परिवारको त्यो अवस्था देखेर डा. अमरेशको मनै कटक्क भयो। त्यसपछि उनले रिफर गर्नुपनि उचित नहुने महसुस गरे। अनि डा. अमरेश जोखिम मोलेर भएपनि ती महिलाको शल्यक्रिया गरी गर्भको मृत बच्चा त्यहीँ नै निकालेर आमाको ज्यान बचाउने कोशिश गर्ने निर्णयमा पुगे।
डा. अमरेश नेतृत्वको चिकित्सकको टिमले ती महिलाको मृत बच्चा निकाल्नको लागि शल्यक्रियाको तयारी गर्यो। शल्यक्रिया कक्षमा लगियो। अनि शल्यक्रिया सुरु भयो। केही समयको मेहनतपछि चिकित्सकको टिमलाई शल्यक्रिया गरी ती महिलाको गर्भको मृत बच्चा निकाल्ने सफलता मिल्यो।
ती महिलाको पाठेघरको पछाडिको भागसम्म नै च्यातिएको थियो। त्यो सिलाउन थालियो। तर, सिलाउने क्रममा रक्तस्राव भयो। चिकित्सकको टिमले धैर्यता नगुमाई सिलाइरहे। अर्कातर्फ तुरुन्तै अस्पतालका कर्मचारीहरूलाई रगतको व्यवस्थापन गरिदिन अनुरोध गरियो। कर्मचारीहरूले पनि तुरुन्तै रक्तदान गरे। अनि ती महिलालाई तीनै कर्मचारीले रक्तदान गरेको रगत दिइयो।
शल्यक्रिया सफल भयो। ती महिलाको सातौं सन्तानका रूपमा बच्चालाई जन्मदिन त सम्भव भएन। तर, महिलाको ज्यान भने बाँच्यो। अस्पतालमा सबै टिमको साथ र सहयोग भएकै कारण ती महिलाको ज्यान बचाउन सम्भव भएको डा. अमरेशले अनुभव सुनाए। केही दिनको औषधि उपचारपछि ती महिला बाँचेर घर फर्किइन्। मृत्युको मुखमा पुगेकी ती महिलाको गर्भको मृत बच्चा निकालेर ज्यान बचाएको त्यो घटना डा. अमरेश कहिल्यै भुल्दैनन्।
गाइघाटमा काम गर्दा आफूले अस्पताल, स्थानीय अनि बिरामीलगायतबाट निक्कै माया पाएको उनी, सम्झन्छन्। एक दिन त बिदामा घर आएको दिन समेत अस्पताल व्यवस्थापन समितिका अध्यक्षले उनलाई लिन महोतरीस्थित घरमै गाडी पठाइदिएको सम्झन्छन्, उनी।
गाइघाटमा काम गर्दा गाउँगाउँका आर्थिक अवस्था समेत कमजोर भएका धेरै बिरामीको रोदन उनले नजिकबाट देखेका छन्। अस्पतालमा पुगेका बिरामीलाई अन्यत्र रिफर गर्दा समेत आर्थिक अभाव लगायतका कारण रिफर भएर जान नमानेको सम्झन्छन्, उनी। त्यसैले गाउँगाउँमा एमडीजीपीइएम अध्ययन गरेका चिकित्सकलाई पठाउन सके दुर्गमका बिरामीका लागि सहजता हुने उनको सुझाव छ।
डाक्टरी रहर
महोतरीको सोनमा गाउँपालिका वडा नम्बर–८ मा जन्मिएका अमरेश कुमार महतोले स्थानीय गौशालास्थित त्रिभुवन माविबाट २०५८ मा एसएलसी गरे।
त्यसपछि उनले जनकपुरस्थित धनुषा साइन्स क्याम्पसबाट प्लस टु गरे। अमरेशलाई सानैबाट डाक्टर बन्ने रहर थियो। त्यसैले उनले डाक्टरी विषय नै अध्ययनका लागि तयारी गरे। अनि छनोट परीक्षा पनि दिए। छनोट परीक्षामा सफल भएर त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरस्थित जानकी मेडिकल कलेजमा सन् २००८ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। उनले इन्टर्नसिपसहित सन् २०१५ सम्ममा एमबीबीएस अध्ययन सके। त्यो बेला विभिन्न आन्दोलनका कारण अध्ययन सकिन एक वर्ष ढिला भएको उनी सम्झन्छन्।
त्यसपछि काठमाडौंका विभिन्न अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरे। डा. अमरेश थप अध्ययन गर्नु त छँदैथियो। उनी सुनसरीको धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि २०१६ मा भर्ना भए। तराईको गाउँ परिवेशमा जन्मे हुर्केका उनलाई नेपालको माटो सुहाउँदो विषय छनोट गर्न मन लाग्यो रे। त्यसैले अमरेशले चिकित्साशास्त्रको स्नातकोत्तर तहमा 'जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीइएम)' विषय छनोट गरे। 'फ्यामिली मेडिसिन'का नामले पनि चिनिने यो विधाले सामान्यदेखि आकस्मिक अवस्थासम्मका बिरामीको प्राथमिक उपचार र व्यवस्थापनजस्ता विषयलाई प्रश्रय दिन्छ।
एमडीजीपीइएम अध्ययन गरेका चिकित्सकको विशेषगरी गाउँगाउँ पुगेर रोग पहिचान र उपचार गर्ने प्राथमिकता हुन्छ। त्यसैले त एमडीजीपीइएम अध्ययन गरेका चिकित्सकलाई गाउँगाउँका बिरामीलाई मृत्युको मुखबाट बचाउने चिकित्सकका रूपमा समेत चिनिन्छ।
तराईको गाउँ परिवेशमा जन्मे हुर्केका उनलाई गाउँगाउँमा पुगेर समग्र रोगको उपचार गर्न सकिने किसिमको यो विषय नै मन पर्यो। अनि यही विषय रोजेको उनले अनुभव सुनाए। एमडीजीपीइएम विषय विशेषगरी नेपालको ग्रामीण क्षेत्रको माटो सुहाउँदो विषयका रूपमा लिन्छन्, डा. अमरेश। सानैबाट उनलाई गाउँमा नै बसेर काम गर्ने इच्छा पनि थियो। गाउँगाउँमा गएर काम गर्नको लागि यही नै विषय उपयुक्त महसुस भएकाले यो विषय छनोट गरेको उनले अनुभव सुनाए।
सरकारले एमडीजीपीइएम अध्ययन गरेका चिकित्सकलाई गाउँगाउँमा पुर्याउन सकेको खण्डमा नेपालका धेरै व्यक्तिको ज्यान जोगिन सक्ने डा. अमरेशको तर्क छ।
सन् २०१९ मा डा. अमरेशको एमडीजीपीइएम अध्ययन सकियो। उनले सरकारी छात्रवृत्ति कोटामा एमडीजीपीइएम अध्ययन गरेका हुन्। छात्रवृत्ति कोटामा अध्ययन गरेवापत उनले दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले छात्रवृत्ति कोटामा अध्ययन गरेवापत उनले सन् २०२१ सम्म दुई वर्ष उदयपुरको गाइघाटस्थित उदयपुर जिल्ला अस्पतालमा छात्रवृत्ति करारमा काम गरे।
छात्रवृत्ति करारको काम सकिएपछि पनि डा. अमरेशले २०२२ सम्म निक साइमन्स इन्टिच्युडको जागिरे भएर त्यहीँ एक वर्ष काम गरे।
गाइघाटमा काम गर्दा गाउँगाउँका आर्थिक अवस्था समेत कमजोर भएका धेरै बिरामीको रोदन उनले नजिकबाट देखेका छन्। अस्पतालमा पुगेका बिरामीलाई अन्यत्र रिफर गर्दा समेत आर्थिक अभाव लगायतका कारण रिफर भएर जान नमानेको सम्झन्छन् उनी।
त्यसपछि त्यही संस्थाको सहयोगमा रसुवा जिल्ला अस्पतालमा पुगेर करिब ६ महिना उनले काम गरे। उनी निक साइमन्स इन्टिच्युडकै जागिरे भएर बागलुंगको तत्कालिन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे। त्यहाँ उनले गत चैतसम्म करिब दुई वर्ष काम गरे। निक साइमन्स इन्टिच्युडले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रिय सहयोगी भूमिका खेलेको उनले महसुस गरेका छन्।
श्वास फेर्न नसकेर छटपटाउँदै अस्पताल आएका ती बालक
बागलुंगको बुर्तिबाङमा काम गर्दाको एउटा प्रसंग पनि डा. अमरेश कहिल्यै भुल्दैनन्।
एक दिन उनी त्यहाँको स्वास्थ्य केन्द्रमा ड्यूटी सकेर क्वाटरसँगै रहेको इमर्जेन्सी कक्ष नजिकै बसेका थिए। बेलुकाको करिब पाँच बजेको समय थियो। करिब आठ वर्षका बालकलाई त्यहाँ ल्याइयो। तुरुन्तै डा. अमरेशले ती बालकको स्वास्थ्य अवस्था हेरे। त्यसपछि ती बालकको छातीमा हावा भरिएको थाहा भयो। जसले गर्दा बालकलाई श्वास फेर्न कठिन भइरहेको थियो।
त्यसपछि ती बालकको तुरुन्तै सुइको माध्यमबाट छातीमा भरिएको हावा निकालियो। छातीमा हावा भरिने यस्तो समस्यालाई चिकित्सकीय भाषामा 'सब्क्युटिनियस इम्फाइसेमा' भनिन्छ। त्यो हावा तुरुन्तै ननिकाल्ने हो भने श्वासप्रश्वासमा कठिन भएर मृत्युको जोखिम थियो। त्यसैले श्वास फेर्न सहज बनाएपछि ती बालकलाई सुविधायुक्त अस्पतालमा रिफर गरेर ज्यान बचाएको डा. अमरेश सम्झन्छन्।
गत वैशाखदेखि डा. अमरेश आफू जन्मे हुर्केर पढेकै ठाउँमा काम गर्न पुगे। उनी हाल महोतरीको गौशालास्थित स्थानीय नगर अस्पतालमा करार जागिरेका रूपमा काम गर्न पुगेका छन्। डा. अमरेश त्यहाँ क्लिनिकल कोर्डिनेटरको भूमिकामा छन्।
असार २१, २०८२ शनिबार १५:१२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।