पर्यटन क्षेत्रमा राज्यको लगानीले मात्र पुग्दैन्, विदेशी लगानी अपरिहार्य छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई अझ प्रभावकारी बनाउने हो भने राज्यको लगानी मात्र पर्याप्त नहुने बताएका छन्।
शनिबार आयोजित ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विदेशी लगानी र साझेदारीलाई अपरिहार्य आवश्यकता बताएका हुन्।
उनका अनुसार नेपालसँग अन्य देशमा नभएका अद्वितीय प्राकृतिक स्रोतहरू छन्, जसले नेपाललाई विश्वमै छुट्टै पहिचान दिलाउन सक्छ। 'विदेशमा सबैथोक बनाउन सकिए पनि लुम्बिनी, पशुपति वा हाम्रो जस्ता प्राकृतिक नदी–झरना जस्ता सम्पदा बनाइँदैन,' उनले दाबी गरे।
पर्यटनलाई आर्थिक विकासको इञ्जिन बनाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले संसारकै सबैभन्दा लामो केबलकार नेपालमा निर्माण गर्न सके देशको पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे।
सरकारले गरिरहेका कार्यहरूको मूल्यांकन जनताले गरिरहेकाले थप सजक भएर काम गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
असार २१, २०८२ शनिबार १३:३५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।