मलेसियन व्यापारीहरू बालुवाटारमा, नेपालमा लगानीको सम्भावनाबारे प्रधानमन्त्रीसँग छलफल

मलेसियन व्यापारीहरू बालुवाटारमा, नेपालमा लगानीको सम्भावनाबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं : नेपालमा लगानीको सम्भावना र व्यावसायिक अवसरहरूबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलका व्यवसायीहरूले आज छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मलेसियास्थित प्याराडाइज्ड ग्रुप कम्पनीका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो)को नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। प्रतिनिधिमण्डलले नेपाल भ्रमणको उद्देश्य नयाँ व्यावसायिक सम्भावना पहिचान गर्नुका साथै दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्नु रहेको जानकारी गराएको थियो।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणमा विदेशी लगानी महत्वपूर्ण हुने भन्दै लगानीमैत्री वातावरण बनाउन सरकार कानुनी र संरचनात्मक सुधारमा लागिपरेको बताए। आवश्यक परे व्यवसायीसँग परामर्श र सहकार्य गरेर थप सुधार गर्दै लैजाने प्रधानमन्त्रीको भनाइ थियो। उनले मलेसियन व्यवसायीहरूलाई नेपालमा लगानी गर्न खुला आह्वानसमेत गरे।

भेटमा मलेसियन प्रतिनिधिमण्डलले प्लास्टिक प्रशोधन, सूचना प्रविधि पार्क, पर्यटनजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने इच्छा व्यक्त गरेका थिए। साथै कृषि, जनशक्ति, कपडा तथा विविध क्षेत्रमा समेत लगानीको सम्भावनाबारे दुई पक्षबीच छलफल भएको थियो।

उक्त प्रतिनिधिमण्डल मलेसियास्थित नेपाली दूतावासको समन्वयमा तीनदिने नेपाल भ्रमणका लागि असार १८ गते काठमाडौं आएको हो।

भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा लगायतका अधिकारीहरूको पनि उपस्थिति थियो।

असार २१, २०८२ शनिबार १२:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।