बर्मिङ्घम टेस्टमा रविन्द्र जडेजाले तोडे बीसीसीआईको नियम

एजेन्सी : इङ्ल्यान्डविरुद्ध बर्मिङ्घममा जारी टेस्ट म्याचको तेस्रो दिन भारतीय अलराउन्डर रविन्द्र जडेजाले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको नियम तोडेका छन्।
अष्ट्रेलिया भ्रमणपछि लागू गरिएको बीसीसीआईको नयाँ नियम जडेजाले तोडेका हुन्। बीसीसीआईले कुनै पनि खेलाडी टिम बसबाहेक एक्लै मैदान आउन जान नपाउने नियम बनाएको थियो।
तर, दोस्रो टेस्टको तेस्रो दिन जडेजा बिहानै बर्मिङ्घमको एजबास्टन मैदानमा एक्लै पुगेर ब्याटिङ अभ्यासमा जुटेका हुन्।
लिड्समा भएको अघिल्लो टेस्टमा टोलीको हार र उनको व्यक्तिगत प्रदर्शन (११ र २५ रन) पछि क्रिकेट विज्ञहरुले उनको टोलीमा स्थानबारे प्रश्न उठाउन थालेका थिए।
लिड्स टेस्टमा भारतीय टोलीको तल्लो क्रमको ब्याटिङ पूर्ण रूपमा असफल भएको थियो। शीर्ष पाँच ब्याट्सम्यानले ७२१ रन बनाउँदा तल्लो छ ब्याट्सम्यानले जम्मा ६५ रन मात्र जोडेका थिए।
टोलीले पहिलो इनिङमा ४१ रनमा सात विकेट र दोस्रो इनिङमा ३१ रनमा छ विकेट गुमाएको थियो। सो टेस्टमा जडेजा आफैँले पनि ११ र २५ रनमात्र बनाउन सकेका थिए भने एक मात्र विकेट लिएका थिए।
यही पृष्ठभूमिमा, बर्मिङ्घम टेस्टको पहिलो दिन ४१ रनमा अविजित रहेका जडेजा आफ्नो इनिङलाई ठूलो स्कोरमा परिणत गर्न चाहन्थे। यही कारणले उनी तेस्रो दिन बिहानै टिम बसको प्रतिक्षा नगरी एक्लै रंगशाला पुगे। त्यहाँ उनले स्थानीय बलरहरूसँग करिब ४० मिनेटसम्म नेट्समा ब्याटिङ अभ्यास गरे।
उनको यो अतिरिक्त प्रयासले काम गर्यो। एजबास्टन टेस्टमा जब उनी २११ रनमा ५ विकेट गुमेको अवस्थामा ब्याटिङ गर्न आए, टोली लिड्सको जस्तै संकटमा थियो। तर, जडेजाले विकेटकिपर ऋषभ पन्तसँग मिलेर इनिङ्स सम्हाले।
उनीहरुले छैटौं विकेटका लागि २०३ रनको विशाल साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। जडेजाले आफ्नो इनिङ्सलाई ४१ रनबाट बढाउँदै ८९ रनको महत्वपूर्ण योगदान दिए।
संयोगवश, सन् २०२२ मा पनि जडेजाले एजबास्टनकै यसै मैदानमा शानदार प्रदर्शन गर्दै शतक बनाएका थिए। सो खेलमा उनले ऋषभ पन्तसँग मिलेर २२२ रनको साझेदारी गरेका थिए। यद्यपि, नियम तोडेको विषयमा बीसीसीआईले जडेजामाथि के कारबाही गर्छ, त्यो हेर्न बाँकी छ।
असार २१, २०८२ शनिबार ०८:५२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।