बलिउडबारे अमालको ठूलो खुलासा- ‘ठूला निर्माता र कलाकारले कार्तिकलाई पनि सुशान्तकै बाटोमा पुर्‍याउन खोज्दैछन्’

बलिउडबारे अमालको ठूलो खुलासा- ‘ठूला निर्माता र कलाकारले कार्तिकलाई पनि सुशान्तकै बाटोमा पुर्‍याउन खोज्दैछन्’

एजेन्सी : गायक तथा संगीतकार अमाल मलिकले बलिउडको ‘अँध्यारो पाटो’ बारे खुलेर कुरा गर्दै स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत र हालका चर्चित अभिनेता कार्तिक आर्यनलाई भइरहेको व्यवहारबीच तुलना गरेका छन्।

हालै मिर्ची प्लसलाई दिएको एक अन्तर्वार्तामा उनले बलिउडभित्रको अवस्था भयावह रहेको र यसले मानिसको ज्यानैसमेत लिने जोखिम रहेको समेत दाबी  गरेका छन्। अमालका अनुसार, अब मानिसहरूले फिल्म उद्योगको वास्तविकता बुझिसकेका छन्।

‘भित्रबाट यो यति अँध्यारो छ कि यसले कहिलेकाहीँ मानिसको ज्यान समेत लिन्छ’,  सुशान्त सिंह राजपूतको उदाहरण दिँदै उनले भने, ‘सुशान्तले यो सबै सहन सकेनन्। यो उद्योगले उनको मनोबल र मानसिक अवस्थामा गम्भीर असर पुर्यायो।’

सुशान्तको मृत्युपछि उद्योगको वास्तविक अनुहार उजागर भएको र यसको छवि धमिलो बनेको धारणा राख्दै अमालले कडा टिप्पणी गरे। उनले उद्योगमा संलग्न केही मानिसहरूले अहिले आफ्नो कर्मको फल भोगिरहेको र उनीहरू पतनको बाटोमा रहेको तथा यसैको हकदार भएको बताए।

अमालले यस्तै किसिमको दुर्व्यवहार अहिले अभिनेता कार्तिक आर्यनमाथि पनि भइरहेको दाबी गरे। उनका अनुसार, कार्तिकलाई पनि ‘अलग्याउने’ प्रयास भइरहेको छ।

‘कार्तिक पनि बाहिरी व्यक्ति हुन् जसले आफ्नो मेहनतले स्थान बनाएका छन्,’ अमालले भने, ‘तर अहिले पनि करिब १०० जना मानिस उनलाई हटाउन खोजिरहेका छन्। यद्यपि, कार्तिक आफ्नो काममा लागेर मुस्कुराउँदै र अघि बढिरहेकोमा छन्।’

बलिउडमा ‘पावर प्ले’ र ‘खेल’ हुने गरेको भन्दै उनले यसमा ठूला निर्माता तथा कलाकारहरूको संलग्नता रहने गरेको आरोप लगाए।

स्मरण रहोस्, अभिनेता सुशान्त सिंह राजपूत १४ जुन २०२० मा मुम्बईस्थित बान्द्रामा रहेको आफ्नै निवासमा मृत भेटिएका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले गरेको अनुसन्धानमा सुशान्तको मृत्युको कारण आत्महत्या नै रहेको देखिएको थियो।

असार २१, २०८२ शनिबार ०८:१९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।