अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको मृत्यु, २० बालिका बेपत्ता

एजेन्सी : अमेरिकी राज्य टेक्सासमा शुक्रबार भारी वर्षापछि ग्वाडालुप नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस विपत्तिमा १३ जनाको ज्यान गएको छ भने २० जना बालिका अझै बेपत्ता छन्।
स्थानीय अधिकारीहरूका अनुसार बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ। केर्भिल काउन्टीका शेरिफ ल्यारी लेथाले पानी कहिले रोकिन्छ भन्ने यकिन नभएको र बाढीको अवस्था सामान्य नहुँदासम्म मृतकको संख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
मौसम विभागले आगामी केही घण्टामा टेक्सासमा अझै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ, जसले उद्धार कार्यमा थप चुनौती थपेको छ। टेक्सासका गभर्नर ग्रेग एबोटले बाढीसँग जुध्न आवश्यक सबै स्रोतहरू राज्यले प्रयोग गरिरहेको बताएका छन्।
राष्ट्रिय मौसम सेवाका अनुसार बिहीबार राति र शुक्रबार बिहान केर्भिल काउन्टीमा ५ देखि १० इन्चसम्म भारी वर्षा भएको थियो। यही अत्यधिक वर्षाका कारण टेक्सासको ग्वाडालुप नदी केही घण्टामै ७ फिटबाट ह्वात्तै बढेर २९ फिटसम्म पुगेको थियो, जसले विनाशकारी बाढी ल्यायो।
बाढीका कारण नदीको बहाव स्थानीय नाली र जलमार्गमा पसेको छ। यसले सडकहरू बगाएको छ भने ट्रेलर र सवारी साधनहरू पनि बाढीले बगाएर लगेको छ। केर्भिल नजिकै रहेको केटीहरूको ग्रीष्मकालीन शिविर, क्याम्प मिस्टिक, पूर्ण रूपमा डुबेको थियो। टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले शिविरमा रहेका करिब ७०० बालबालिकामध्ये अधिकांशलाई सुरक्षित स्थानमा सारिएको बताए।
शिविरमा बिजुली अवरुद्ध भएको छ र केही बालबालिका अझै पनि उद्धार टोलीको पर्खाइमा रहेको बताइएको छ। अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको ठ्याक्कै संख्या पत्ता लगाउन गाह्रो भइरहेको जनाएका छन्।
सान एन्टोनियोका आपतकालीन टोलीहरूले हेलिकप्टर र ड्रोन प्रयोग गरेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुरु गरेका छन्।
त्यस क्षेत्रका मानिसहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार बाढीको पानी अचानक आएको थियो र ज्यान जोगाउन उनीहरूलाई रूख चढ्नुपरेको थियो। बाढीले बिजुलीका तारहरू पनि ढालेको छ, जसका कारण केर्भिल वरपरका क्षेत्रहरूमा करिब २,६०० घरहरू बिजुलीविहीन भएका छन्।
असार २१, २०८२ शनिबार ०७:५४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।