यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी लगायतका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्र लगायत वर्षा हुने सबै स्थानमा भू-क्षय, पहिरो, बाढी र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्छ।

नदी नालाहरुमा पानीको सतह बढ्ने भएकाले दैनिक जनजीवन, कृषि, यातायात लगायत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायहरुलाई महाशाखाले अनुरोध गरेको छ।

असार २१, २०८२ शनिबार ०७:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।