देशका अधिकांश क्षेत्रमा यो वर्ष बढी वर्षा हुने, मधेसमा भने कम हुने पूर्वानुमान

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले असार १७ देखि असोज १४ सम्मको मौसम सम्बन्धी अद्यावधिक पूर्वानुमान सार्वजनिक गर्दै मधेस प्रदेशको दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याएको छ।
विभागका सूचना अधिकारी दिनाकर कायस्थका अनुसार कोशी प्रदेशको दक्षिणी भू–भागमा भने सरदर बराबरको वर्षा हुने देखिएको छ। बाँकी भू–भागमा, विशेषगरी देशका अन्य अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
यसअघि विभागले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाका लागि जारी गरेको अनुमानमा पनि अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको थियो। त्यस्तै, अधिकतम र न्यूनतम तापक्रम पनि देशभर औसतभन्दा माथि रहने उल्लेख गरिएको थियो।
अहिले विभागले मनसुनको अद्यावधिक विश्लेषण जारी गर्दै मनसुनको प्रभाव अझ स्पष्ट पार्ने प्रयास गरेको छ। अद्यावधिक अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनीको उत्तरी भाग र गण्डकी प्रदेशको अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनीको पश्चिमी क्षेत्र, गण्डकीको उत्तरपूर्वी भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा ४५ देखि ५५ प्रतिशत सम्भावना रहेको छ। सुदूरपश्चिमको उत्तरी भू–भाग, लुम्बिनीको दक्षिणपूर्वी भू–भाग, बागमतीको दक्षिणी क्षेत्र र कोशीको मध्य भागमा पनि ३५ देखि ४५ प्रतिशत सम्भावना देखिएको छ।
कोशी प्रदेशको दक्षिणी भू–भागमा सरदर बराबरको वर्षा हुने अनुमान गरिएको छ भने मधेस प्रदेशको मध्य तथा पूर्वी भू–भागमा ३५ देखि ४५ प्रतिशत सम्भावनासहित सरदरभन्दा कम वर्षा हुने देखिएको विभागले जनाएको छ।
विभागले उक्त अद्यावधिक अनुमान विश्व मौसम संगठन तथा दक्षिण एसियाली क्षेत्रीय मौसम केन्द्रहरूसँगको सहकार्यमा तयार गरिएको जानकारी दिएको छ। साथै, पूर्वी प्रशान्तमा विकसित एल्निनो, हिन्द महासागरको डिपोल अवस्था, युरोप र एसियाको हिउँदकालीन अवस्था, तथा विभिन्न अन्तरऋतु परिवर्तनीय तत्वहरूलाई आधार मानेर यो पूर्वानुमान गरिएको हो।
विभागले यो जानकारी कृषक, जल व्यवस्थापनकर्ता र आपतकालीन व्यवस्थापन सम्बन्धी निकायहरूका लागि उपयोगी हुने अपेक्षा गरेको छ।
असार २०, २०८२ शुक्रबार २१:४१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।