गण्डकी प्रदेश महिला टी-२० क्रिकेटको उपाधि भिडन्तमा कास्की र स्याङजा आमनेसामने

गण्डकी प्रदेश महिला टी-२० क्रिकेटको उपाधि भिडन्तमा कास्की र स्याङजा आमनेसामने

पोखरा : पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा आमनेसामने हुने भएका छन्।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भइरहेको प्रतियोगिताको लिग चरण शुक्रबार सम्पन्न भएपछि फाइनलमा स्थान सुरक्षित गर्ने दुई टोलीको टुंगो लागेको हो।

प्रतियोगितामा अपराजित रहँदै कास्की समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो भने स्याङजा उपविजेता बन्दै उपाधि भिडन्तमा पुगेको हो। कास्कीले तीनै खेलमा विजय हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा कब्जा जमायो। स्याङजाले दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ३ अंकसहित दोस्रो स्थानमा रह्यो। त्यस्तै, नवलपुरले एक जित र दुई हारसहित २ अंक जोड्दै तेस्रो स्थानमा चित्त बुझायो भने पर्वतले दुई हार र एक बराबरीसहित १ अंक मात्रै जोड्दै पुछारमा रह्यो।

शुक्रबार भएको निर्णायक खेलमा स्याङजाले नवलपुरलाई ८ विकेटले सहजै पराजित गर्दै फाइनल यात्रा तय गर्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नवलपुरले १५.३ ओभरमा ५६ रनमै अलआउट भयो। टिमको कमजोर प्रदर्शनका बीच धनकुमारी क्षेत्रीले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छोएनन्। स्याङजाका लागि सिमाना केसीले उत्कृष्ट बलिङ गर्दै ३.३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ४ विकेट लिइन्। उनीसँगै आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २–२ विकेट लिए।

५७ रनको सामान्य लक्ष्य पाएको स्याङजाले ८.४ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। सलिना सेनले २३ रन बनाउँदै जितको आधार तय गरिन् भने श्रेया शाहले १४ रनको साथ दिइन्। नवलपुरका लागि आयुषा चापागाईं र लिजा गुरुङले एक–एक विकेट लिए।

त्यसअघि लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई एकतर्फी शैलीमा ९५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले २० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनायो। कास्कीका लागि सिजर्ना पौडेलले सर्वाधिक ४१ रन बनाउँदै इनिङ्स सम्हालिन्। पर्वतका लागि जिविका क्षेत्रीले ३ विकेट लिइन् भने प्रतिभा खड्का र सुशिला भट्टराईले एक–एक विकेट झारे।

१२४ रनको विशाल लक्ष्य लिएर मैदानमा उत्रिएको पर्वतको पारी १०.१ ओभरमै २८ रनमा थालिएको थियो। टिमका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ कास्कीका सोनिमा पुन मगरले सर्वाधिक ३ विकेट लिइन्। यशोदा भुजेलले २ विकेट लिए भने रेखा तामाङ, रचना चौधरी, रोजि परियार र चन्द्रमाया बरालले समान एक–एक विकेट हात पारे।

अब प्रतियोगिताको उपाधिका लागि कास्की र स्याङजा आइतबार हुने फाइनल खेलमा भिड्ने छन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टिम उपाधि जित्न आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छन्। गण्डकी प्रदेशको महिला क्रिकेट प्रवर्धनका लागि महत्वपूर्ण मानिएको प्रतियोगिताले नवप्रतिभाहरूलाई थप उत्साह दिएको आयोजकले जनाएको छ।

असार २०, २०८२ शुक्रबार २१:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।