नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा

काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्सकहरूको सुरक्षा र कार्य वातावरणको विषयमा चिन्ता व्यक्त गर्दै राष्ट्रव्यापी आन्दोलनको घोषणा गरेको छ।
संघको आकस्मिक कार्यकारिणी समितिको बैठकले शुक्रबार हालको विषम परिस्थितिमा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने काम भएको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।
आन्दोलनको पहिलो चरणमा संघका शाखा कार्यालयहरूले शुक्रबार नै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
त्यसपछि आइतबार चैत्र २२ गते सम्पूर्ण चिकित्सकहरूले आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा प्रतीकात्मक धर्ना दिने भएको छ।
सोमबार चैत्र २३ गते देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिने छ। आन्दोलनको अन्तिम चरणमा मंगलबार चैत्र २४ गते सम्पूर्ण चिकित्सकहरूले आफ्नो नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने तयारी गरेका छन्।
यो निर्णय विभिन्न सरोकारवालाहरूसँगको बृहत् छलफलपछि लिइएको बताइएको छ। छलफलमा विभिन्न अस्पतालका प्रमुखज्यूहरू, एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, विभिन्न सोसाइटीहरू, संघका शाखा कार्यालयहरू, चिकित्सक समाज, विभिन्न स्वास्थ्यकर्मी संघ-संगठनहरू र आवासीय चिकित्सकहरू लगायत सम्पूर्ण सरोकारवालाहरूको सहभागिता रहेको थियो।
आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज लगायतका संस्थाहरूले ऐक्यबद्धता जनाएको महासचिव डा. सञ्जीव तिवारीले जानकारी दिए।
यो आन्दोलनले देशभरको स्वास्थ्य सेवामा व्यापक प्रभाव पार्ने देखिएको छ। सरकार र चिकित्सक संघबीच छिट्टै वार्ता हुने अपेक्षा गरिएको छ। उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो।
असार २०, २०८२ शुक्रबार २०:३७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।