अर्थतन्त्र चिन्ताजनक छैन, बरु लयमा फर्किँदै छ : गर्भनर पौडेल

अर्थतन्त्र चिन्ताजनक छैन, बरु लयमा फर्किँदै छ : गर्भनर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र हाल चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक लय फेरि सम्हालिन थालेको दाबी गरे।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयारीका सन्दर्भमा राय तथा सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा गर्भनर पौडेलले भने, ‘अहिलेको आर्थिक अवस्था हेर्दा निराश हुनु पर्ने अवस्था छैन। अर्थतन्त्र चिन्ताजनक छैन, बरु लयमा फर्किँदै छ। हामीसँग पैसा पनि छ, विदेशी विनिमय पनि छ, अब कुरा तिनलाई कसरी सही तरिकाले परिचालन गर्ने भन्ने हो।’

उनले देशमा पर्याप्त वित्तीय स्रोत भए पनि ती स्रोतलाई आर्थिक वृद्धिमा रूपान्तरण गर्न नीति तथा योजना ‘स्मूथ मूभ’ हुन आवश्यक रहेको बताए। ‘अर्थतन्त्र स्वाभाविक रूपमा उफ्रने भनेको होइन, त्यसका लागि सही चालक (ड्राइभर) चाहिन्छ,’ गर्भनर पौडेलले स्पष्ट पारे।

उनले कोरोना महामारीका बेला अर्थतन्त्रले निकै ठूलो दबाब बेहोरेको भए पनि अहिले पुनःस्थापनाको चरणमा रहेको धारणा राख्दै भने, ‘कोरोनाको बेला जति कमजोर अवस्थामा थियो, अब भने सुधार हुँदैछ। अहिलेको आर्थिक ग्राफ हेर्दा पुनः लयमा फर्किएको देखिन्छ।’

गर्भनर पौडेलले अबको आवश्यकता भनेको मौद्रिक र वित्तीय नीतिमा स्पष्टता ल्याउँदै उपलब्ध स्रोतसाधनलाई प्रभावकारी ढंगले उपयोग गर्नु भएको बताए।

असार २०, २०८२ शुक्रबार १९:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।