बिपी राजमार्गको काभ्रे खण्डमा रातको समयमा सवारी चलाउन नपाइने

काभ्रेपलाञ्चोक : सक्रिय मनसुनका कारण संभावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनाअनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्मको सडक खण्डमा आइतबार असार २३ गतेदेखि एक महिनासम्म हरेक साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार मनसुनको कारण बाढी र पहिरोको खतरा उच्च भएपछि सावधानीस्वरूप यो निर्णय गरिएको हो। यसअघि असार ७ गतेदेखि १५ दिनका लागि रातिको समयसहित यही मार्गमा आवागमनमा प्रतिबन्ध लगाइएको थियो।
अब आइतबारदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको सिमानास्थित नेपालथोकमा र काठमाडौंबाट पूर्वतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा रोकिनेछ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा बगाएको थियो। बिपी राजमार्ग पूर्वी नेपाल जोड्ने छोटो दूरीको महत्त्वपूर्ण मार्ग हो, जसबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालनमा रहने गर्छन्।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बाढीपहिरोले राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रो र चौथो खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ। सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकखण्ड गरी ८४ किलोमिटर क्षेत्रमा ठूलो क्षति भएको हो।
क्षतिलाई मर्मत गर्न राजमार्गलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ।
असार २०, २०८२ शुक्रबार १८:२९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।