राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म सम्पन्न ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४)’ मा सहभागी भई बिहीबार स्वदेश फर्किएका छ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे। उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले गारद अर्पण गरेको थियो।
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली असार १४ गते स्पेन गएका थिए। सम्मेलनका क्रममा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र समकक्षी सान्चेजसँग विशेष वार्ता पनि भएको हो।
सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकार प्रमुखहरू, अन्तर्राष्ट्रिय संस्था, वित्तीय तथा व्यापारिक क्षेत्र, नागरिक समाज र राष्ट्रसंघीय निकायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। नेपालको तर्फबाट अल्पविकसित, साना तथा टापु मुलुकहरूको विकास चुनौतीबारे स्पष्ट धारणा प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सम्मेलनको मुख्य उद्देश्य दिगो विकासका लागि आवश्यक लगानी सुनिश्चित गर्न आवश्यक तत्काल र दीर्घकालीन उपायहरूमा केन्द्रित थियो।
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठसहितको नेपाली प्रतिनिधिमण्डल पनि स्वदेश फर्किएको छ।
असार २०, २०८२ शुक्रबार १८:१७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।