सुर्खेतमा चट्याङले लियो एकजनाको ज्यान, चार जना घाइते

सुर्खेतमा चट्याङले लियो एकजनाको ज्यान, चार जना घाइते

कर्णाली : सुर्खेतको भेरीगङ्गा नगरपालिका-८ कुइरेमा शुक्रबार दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो करिब ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ भइरहेको बेला अचानक चट्याङ पर्दा २७ वर्षीय डिलबहादुर शाही गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि मेहलकुना अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

सोही चट्याङका कारण घाइते भएका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरीलाई पनि अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री नेतृत्वको टोली र अस्थायी प्रहरी चौकी जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनार नेतृत्वको पाँच सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।

अहिलेसम्म थप मानवीय वा भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

असार २०, २०८२ शुक्रबार १७:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।