कैलालीका मडै दाजुभाइको आँप व्यापार, दैनिक ३५ देखि ४५ हजारको कारोबार

कैलालीका मडै दाजुभाइको आँप व्यापार, दैनिक ३५ देखि ४५ हजारको कारोबार

कैलाली : गोदावरी नगरपालिका-१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले साझेदारीमा सञ्चालन गर्दै आएको आँप बगैँचाले राम्रो आम्दानी दिन थालेको छ।

गेटास्थित पाँच बिघा क्षेत्रफलमा फैलिएको एउटा आँप बगैँचा भाडामा लिएर उनीहरूले विगत केही वर्षदेखि यो व्यवसाय सञ्चालन गर्दै आएका छन्।

इन्द्रबहादुर मडैले आँप बगैँचाको काम ११ वर्षअघि मालाखेतीकै घण्टेश्वर मन्दिर परिसरमा सुरु गरेका थिए। तर, त्यहाँ हावाहुरीले क्षति गरेपछि आफ्नै गाउँले दाजुभाइसँग मिलेर गोदावरी-५, गेटामा रहेको निजी बगैँचा भाडामा लिएर व्यवसाय सरेको हो। अहिले उनीहरूले प्रत्येक सिजनमा बगैँचाको भाडा वापत पाँच लाख रुपैयाँ तिर्ने गर्छन्।

हाल आँपको सिजन चलिरहेको छ र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्। विषादीरहित भएकाले ग्राहक आफैँ बगैँचामै पुगेर छानीछानी आँप किन्ने गरेका छन्। ‘बजार धाउनुपर्दैन, ग्राहक बगैँचामै आइपुग्छन्,’ इन्द्रबहादुर भन्छन्, ‘हामीले कुनै विषादी प्रयोग गरेका छैनौं, त्यसैले ग्राहकको विश्वास पनि बढ्दो छ।’

कैलालीको धनगढी, अत्तरिया, क्याप्पसरोड, लम्की, साथै कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजी लगायतका स्थानबाट ग्राहकहरू बगैँचासम्म आँप किन्न आउने गरेका छन्। व्यवसायी मानबहादुर मडैका अनुसार हालसम्म करीब पाँच लाख रुपैयाँ बराबरको आँप बिक्री भइसकेको छ भने अझै झन्डै १० लाख रुपैयाँ बराबरको आँप बाँकी छ।

दैनिक ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्मको कारोबार हुने गरेको र कुल खर्च कटाएर सिजनको अन्त्यसम्ममा झन्डै आठ लाख रुपैयाँसम्म बचत हुने इन्द्रबहादुर बताउँछन्। यहाँ फुटकर मूल्य प्रतिकिलो ८० रुपैयाँ र होलसेल मूल्य ६० रुपैयाँ कायम गरिएको छ।

मडै दाजुभाइको मेहनत, विषादीरहित उत्पादन र स्थानीय बजारमै आँप बेच्ने रणनीतिले गर्दा उनीहरूको आँप व्यवसाय सफल बन्दै गएको छ।

असार २०, २०८२ शुक्रबार १७:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।