अमेरिकामा उडिरहेको विमानमा कुटाकुट भएपछि...

अमेरिकामा उडिरहेको विमानमा कुटाकुट भएपछि...

एजेन्सी : अमेरिकामा उडिरहेको जहाजमा दुई यात्रीबीच कुटाकुट भएको छ।

एक भारतीय मूलका युवकले उडानकै क्रममा अर्का यात्रीलाई आक्रमण गरी घाँटी थिचेपछि उनलाई अदालतले दोषी ठहर गरेको छ।

यो घटना जुन ३० मा फिलाडेल्फियाबाट मियामीका लागि उडेको फ्रन्टियर एयरलाइन्सको विमानमा भएको थियो। उडान भरेको केही समयपछि नै सुरु भएको यो झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा २१ वर्षीय भारतीय मूलका इशान शर्मा र अर्का यात्री केनु इभान्सबीच हातपात भइरहेको देखिन्छ। अन्य यात्री र विमानका कर्मचारीले उनीहरूलाई छुटाउने प्रयास गरिरहे पनि सफल हुँदैनन्।

पीडित यात्री इभान्सका अनुसार उनको अगाडिको सिटमा बसेका शर्मा अनौठो व्यवहार देखाइरहेका थिए। उनी अस्वाभाविक रूपमा हाँस्ने र बारम्बार गुनगुनाउने गरिरहेका थिए, जसले इभान्सलाई असहज बनाएको थियो। शर्माको हर्कतबाट दिक्क भएपछि इभान्सले विमानका कर्मचारीसँग सहयोग मागेका थिए।

त्यसपछि शर्माले विवाद सुरु गर्दै इभान्समाथि जाइलागेर उनको घाँटी समातेको आरोप छ। झगडाका क्रममा दुवै जनालाई चोटपटक लागेको मिडिया रिपोर्टमा उल्लेख छ।

विमान मियामी विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्थानीय प्रहरीले शर्मालाई हिरासतमा लिएको थियो। उनलाई जुलाई १ मा मियामी अदालतमा पेश गरियो।

अदालतमा शर्माका वकिलले अनौठो दाबी प्रस्तुत गरे। उनका अनुसार शर्मा केवल ध्यान गरिरहेका थिए, जसलाई पछाडि बसेका इभान्सले गलत अर्थमा बुझेका थिए।

अदालतले शर्मालाई ५०० अमेरिकी डलर (करिब ६७,००० नेपाली रुपैयाँ) जरिवाना तोकेको छ। साथै, पीडित इभान्सलाई सम्पर्क गर्न वा उनको विद्यालय र घर नजिक जान नपाउने गरी प्रतिबन्धात्मक आदेश पनि जारी गरेको छ।

असार २०, २०८२ शुक्रबार १६:५८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।