बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। बेलायत-नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लन्डनमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा लगानीका उत्कृष्ट अवसरहरू रहेको जानकारी दिए।

कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अध्यक्ष ढकालले नेपाल र बेलायतबीच दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै, गोरखा सैनिक भर्ती, विकास सहयोग, शिक्षा र व्यापार क्षेत्रमा बेलायतको ठूलो योगदान रहेको स्मरण गराए। उनले यी सम्बन्धलाई व्यापार र लगानीमार्फत अझ प्रगाढ बनाउनु आवश्यक रहेको बताए।

नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र बढ्दो मध्यम वर्गले लगानीमैत्री वातावरण सिर्जना गरेको उहाँले औँल्याए। ‘नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन क्षमता छ। स्वच्छ र हरित ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यस क्षेत्रमा सहभागी हुन आमन्त्रण गर्दछौं,’ अध्यक्ष ढकालले भने।

साथै, सूचना प्रविधिमा नेपाली युवाहरूको सीपले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवामा प्रतिस्पर्धी केन्द्र बनाउने क्षमताबारे पनि उनले जोड दिए।

महासंघले लगानीकर्तालाई आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै अध्यक्ष ढकालले बेलायतस्थित नेपाली समुदायले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।

असार २०, २०८२ शुक्रबार १६:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।