महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विविध कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विविध कार्यक्रम सम्पन्न

काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ( सीएसआर) अन्तर्गत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, मानव सेवा, वातावरण संरक्षण, पूर्वाधार विकासलगायतका क्षेत्रमा लक्षित विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंकले शिक्षा क्षेत्रमा विशेष जोड दिँदै बाजुराको श्री लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर र मेधावी विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ। यसैगरी, पाटन नगरपालिका–१ मेलचौरा, बैतडीस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयलाई शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

मानव सेवाका क्षेत्रमा पनि बैंकले उल्लेखनीय योगदान दिएको छ। कञ्चनपुरस्थित श्री बैजनाथधाम वृद्धाश्रमलाई खाद्यान्न सामग्री प्रदान गर्नुका साथै काठमाडौंको चण्डेश्वरीस्थित श्री मदनआश्रित आदर्श माध्यमिक विद्यालयका ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्तिका लागि ‘राउण्ड टेबल नेपाल’सँग सहकार्य गरिएको हो।

कलैया शाखामार्फत गर्मीको समयमा उच्च तापक्रमका कारण हुने असहजता कम गर्न सर्वसाधारणलाई निःशुल्क शीतल पानी वितरण गरिएको छ।

साथै, मालीगाउँ प्रहरी वृत्तमा कार्यरत सुरक्षाकर्मीहरूलाई खटिने क्रममा सहज होस् भन्ने उद्देश्यले खानेपानी वितरण गरिएको छ। वीरगञ्ज र गैँडाकोटका रोटरी क्लबहरूसँग सहकार्य गर्दै बैंकले १० थान कृत्रिम खुट्टा, १० थान कृत्रिम हात वितरण तथा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग पनि गरेको छ।

बैंकका अनुसार यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै आर्थिक, सामाजिक र मानवीय विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।

सामाजिक उत्तरदायित्वसँगै महालक्ष्मी विकास बैंकले डिजिटल सेवा विस्तारमा पनि ध्यान दिँदै आएको छ। ग्राहकलाई सुरक्षित, आधुनिक र सहज सेवा दिन लक्षित गर्दै हालसालै बैंकले आफ्नो मोबाइल एप्लिकेसन परिष्कृत गरी ‘महालक्ष्मी स्मार्ट साथी’ सार्वजनिकमा ल्याएको जनाएको छ। यस एपमार्फत ग्राहकले डिजिटल माध्यमबाट विभिन्न बैंकिङ्ग सेवा सजिलै उपयोग गर्न सक्नेछन्।

असार २०, २०८२ शुक्रबार १६:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।