शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरू

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरू
तस्विरः महानन्द जोशी

कञ्चनपुर : दक्षिण एसियामै दुर्लभ र संकटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको गणना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि सुरु भएको छ। नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) को आयोजना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा यो पाँच दिने गणना कार्यक्रम सुरु गरिएको हो।

निकुञ्ज र बीसीएनका आठजना प्राविधिक टोलीले बाइनाकुलर, दुरबिन, क्यामेरा र जीपीएसको प्रयोग गरी चराको संख्या, लिङ्ग विभाजन, गुँडको स्थिति, आहाराको अवस्था, जोखिम तथा सुरक्षासम्बन्धी पक्षहरूबारे गहिरो अध्ययन गर्नेछन्।

बीसीएनका चराविज्ञ हिरुलाल डगौराले गणना स्थलमा स्थलगत अनुगमन गरिने बताउँदै भने, ‘हिँडेर पुग्न सकिने ठाउँमा पैदल र अन्य ठाउँमा हात्ती चढेर गणना गरिन्छ।’ निकुञ्जसँगै दुई दिन निकुञ्ज बाह्य क्षेत्रहरूमा पनि गणना गरिने छ।

गणना सिकारी ताल, शुक्लाफाँट, वीरसिंह टापु, सिंहपुरफाँटा, अण्डैयापटैया लगायत प्रमुख क्षेत्रमा केन्द्रित हुनेछ। गणनासँगै गुँड कुन रूखमा बनाइएको छ, त्यसको उचाइ, घाँसको प्रकृति र सिकारी चराबाट हुने खतरा लगायत विषयमा पनि विस्तृत अध्ययन गरिनेछ।

रेञ्जर प्रयास केसीका अनुसार सुनौलो तोप चरा नेपालका संरक्षित क्षेत्रहरूमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइन्छ। भँगेराजस्तै देखिने यो चरा पहेँलो रङका कारण ‘सुनौलो तोप’ भनिन्छ।

केसीले बताएअनुसार यसले रूखका हाँगामा कलात्मक रूपमा पात सिएर सामूहिक गुँड बनाउँछ र समूहमै आहाराको खोजीमा निस्किन्छ, जसले यसलाई सामाजिक चरा बनाउँछ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेका अनुसार यो चरा कीरा/फट्याङ्ग्रा खान मन पराउने भएकाले किसानको साथी पनि हो। उनी भन्छन्, ‘मनसुनको समयमा सुनौलो तोप बढी प्रजनन गर्छ र काँडेदार रूखमा गुँड बनाउने यसको विशेषता हो।’ 

शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ र यहाँ ४०० भन्दा बढी प्रजातिका चरा पाइन्छन्। सन् १९९६ मा पहिलोपटक देखिएको सुनौलो तोप चराको संरक्षणमा निकुञ्ज निरन्तर लागिरहेको बताइएको छ। हाल यस चराको संख्या १०० को हाराहारीमा रहेको अनुमान गरिएको छ।

असार २०, २०८२ शुक्रबार १६:१७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।