एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

काठमाडौं : अब अलिपे प्लस नेटवर्क प्रयोग गर्ने विदेशी पर्यटकहरूले नेपालमा सिधै नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन्।
एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच यस सम्बन्धी सम्झौता सम्पन्न भएपछि यस्तो सुविधा सम्भव भएको हो।
शुक्रबार सम्पन्न सम्झौतापछि चिनियाँ डिजिटल भुक्तानी प्लेटफर्म अलिपे प्लसमा आबद्ध ११ भन्दा बढी मुलुकका नागरिकहरूले नेपाल आएपछि एनआईसी एशिया बैंकका नेपालपे क्युआर मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
अलिपे प्लस नेटवर्कमा चीन, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी, मंगोलिया र फिलिपिन्सलगायत देशका बैंक तथा भुक्तानी सेवा प्रदायकहरू आबद्ध छन्।
यो सम्झौताले नेपालको अन्तरदेशीय क्युआर भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको भुक्तानी प्रक्रिया सरल, सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।
बैंकका अनुसार अब एनआईसी एशिया बैंकसँग आवद्ध मर्चेन्टहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूबाट पनि डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।
असार २०, २०८२ शुक्रबार १६:०१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।