मुगुमा गिट्टी कुट्दै गरेकी महिलाको पहिरोमा परी ज्यान गयो

मुगु : मुगु जिल्लाको खत्याड गाउँपालिका-५ तारापानीमा गिट्टी कुट्दै गरेकी एक महिलाको पहिरोमा परी ज्यान गएको छ। शुक्रबार बिहान करिब १०ः५० बजे सडकको नाला निर्माणका लागि काम गरिरहेकी ३७ वर्षीया जानु बुढालाई माथिबाट खसेको पहिरोले पुरेपछि घटनास्थलमै मृत्यु भएको हो।
जानु बुढा सोही वडाको कोटीला गाउँकी बासिन्दा हुन्। खत्याड गाउँपालिकाको आर्थिक स्रोत तथा भिष्मराज कन्ट्रक्सन प्रालिको ठेक्कामा निर्माणाधीन १२ नम्बर आयोजना अन्तर्गतको नाला निर्माणका लागि उनी केही दिनदेखि गिट्टी कुट्ने काममा खटिएकी थिइन्।
खत्याड गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाहीले घटनाबारे पुष्टि गर्दै मृतक बुढाको निधन पहिरोले पुरेपछि भएको जानकारी दिए।
घटनापछि इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
भिष्मराज कन्ट्रक्सन प्रालिका प्रोपाइटर लोकराज दाहालका अनुसार बुढा गिट्टी कुटिरहेकै बेला करिब १० मिटर माथिबाट अचानक खसेको पहिरोले उनीमाथि खसेको थियो।
असार २०, २०८२ शुक्रबार १५:४९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।