एकपटकलाई कालो धनलाई सेतो बनाउन दिन कांग्रेस सांसद् तामाङको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले देशभित्र रहेका अवैध रकमलाई करको दायरामा ल्याउँदै एकपटकका लागि निकास दिनुपर्ने प्रस्ताव गरेका छन्। उनले जुनसुकै तरिकाबाट आएपनि १३ प्रतिशत भ्याट लगाएर वैधता दिन सकिने तर्क गर्दै संसदको अर्थ समितिमा यस्तो नीतिगत बहसको खाँचो औंल्याए।
‘१३ प्रतिशत भ्याट लगाएर जे तरिकाले आएकामा पनि पैसा निकाल्न दिनुपर्छ,’ तामाङले भने, ‘दुई नम्बरी होस् या छ नम्बरी, एकपटक त्यसलाई निकास दिने नीति बनाऔँ।’
अर्थमन्त्री विष्णु पौडेलले यस विषयमा उत्तर दिँदै अवैध धनलाई वैध बनाउने विषयमा संसद्मा छलफल मात्र हुँदा पनि मुलुकलाई ठूलो जोखिम पर्ने बताए। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपाल अहिले ‘ग्रे लिष्ट’मा परेको अवस्थामा त्यस्ता विषयमा बहस गर्नु पनि जोखिमपूर्ण हुने बताए।
‘हामी अहिले ग्रे लिष्टबाट बाहिरिनुपर्ने प्रयासमा छौं,’ मन्त्री पौडेलले भने, ‘संसद वा समितिमा कालो धनलाई सेतो पार्ने कुरा मात्र उठ्यो भने पनि सन्देश अन्तर्राष्ट्रियस्तरमा गलत जान सक्छ र नेपाल झनै कालो सूचिमा पर्न सक्छ।’
त्यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने प्रावधान ल्याउनुपर्ने धारणा राखे। उनले ६ महिनाको कुलिङ पिरियड राखेर पटक-पटक सीईओ हुने व्यवस्थालाई अन्त्य गर्नुपर्ने बताए।
बैठकमा सांसदहरूले अर्थसम्बन्धी विधेयक संशोधनका सन्दर्भमा आ-आफ्नो धारणा राख्दै पारदर्शिता र सुशासनका सवालमा स्पष्ट नीति ल्याउन सरकारसँग माग गरेका थिए।
असार २०, २०८२ शुक्रबार १५:३०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।