एक सातामा ३५ जनामा कोरोना, ३१ जिल्लामा फैलियो संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो समय फेरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म मुलुकका ३१ जिल्लामा कोभिड संक्रमण पुष्टि भइसकेको छ।
यो अवधिमा २४९ जनामा संक्रमण देखिएको छ भने पछिल्लो एक सातामात्रै ३५ नयाँ संक्रमित फेला परेका छन्। गत २४ घण्टामै तीन जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, संक्रमणका कारण एक जनाको ज्यानसमेत गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मुलुकभर १७ वटा नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत निगरानी थप कडा बनाएको छ। ‘सबै सीमा नाकामा आरडिटी परीक्षणमार्फत कोभिड निगरानी जारी छ,’ उनले भने।
सरकारले श्वास-प्रश्वासमार्फत सर्ने कोभिड-१९ लगायत अन्य रोगबाट बच्न मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता सावधानी अपनाउन पनि सबैलाई आग्रह गरेको छ।
प्रवक्ता बुढाथोकीले विदेशबाट आउने वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरूमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा ‘सेल्फ क्वारेन्टाइन’ वा ‘आइसोलेसन’मा बस्न पनि सुझाव दिएका छन्।
असार २०, २०८२ शुक्रबार १४:४९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।