प्रविधिले बदलिएको यौन बजार

काठमाडौं : २२ वर्षअघि उनले काठमाडौंमा आफूसमान उमेरका एक पुरुषसँग विवाह गरिन्। बच्चा पेटमा भएपछि श्रीमानले छाडे। आफ्नो घरसमेत देखाएनन्। उनले नखोजेकी होइनन् तर भेट्दै भेटिनन्। उनी माइतमै फर्किइन्। जान त गइन्, तर बस्न अप्ठ्यारो लाग्यो अनि छोरो बोकेर कोटेश्वरमा बसिन्।
लेखपढ गर्न नसक्ने उनी घरेलु कामदार भइन्। छोरा हुर्कँदै गए। बढ्दै गएको पढाइ खर्चले समस्यामा पार्दै लग्यो। घरेलु कामको आम्दानीले धान्न नसकेपछि एक जना साथीले यौन पेशा गर्न सुझाइन्। अनि झोलामा कन्डम बोकेर उनी बसपार्क छेउछाउ उभिन थालिन्।
उनी अहिले ४१ वर्षकी भइन्। उनले यो पेशा छाडेकी छैनन्। तर, यौन व्यवसाय गर्ने तरिका भने बदललिएको छ। अहिले उनी झोलामा कन्डम बोकेर ग्राहक खोज्न कतै उभिनुपर्दैन। फोन र इन्टरनेट कलबाटै ग्राहक आउँछन्।
यौन व्यवसाय गर्ने ‘एप’ बारे त थाहा छैन उनलाई, तर फोन तथा भ्वाइस मेसेजमार्फत उनका ग्राहकहरूले सम्पर्क गर्छन्। २२ वर्षको अवधिमा उनले थरिथरिका ग्राहक देखिन्। विवाह गर्छु भन्नेदेखि कुटेर, लुटेर हिँड्नेसम्म आए।
‘मेरो केही विकल्प नभएर यो पेशा रोजेँ। तर, यो काममा ग्राहकले कहिल्यै सम्मान गरेनन्। सम्बन्ध भएपछि गाली गर्छन्,’ उनले भनिन्, ‘यो पेशा पनि अन्य पेशा जस्तै हो। यहाँ मात्रै होइन अन्यत्र पनि यो पेशा गर्नेहरू छन्। तर, सेवा पनि लिनुपर्ने अनि घृणा पनि गर्नुपर्ने?’
यो अनुभव काठमाडौंमा यौन व्यवसाय गर्ने एक महिलाको हो। उनले आफ्नो परिचय नखुलाउने शर्तमा उकेरासँग कुरा गरेकी हुन्।
शासकलाई मनोरञ्जन दिन यौन व्यवसाय !
प्रसङ्ग १४औं शताब्दीको। राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार १४औं शताब्दीमा भारतबाट यौन व्यवसाय गर्नेहरू सल्यानी क्षेत्रमा आएर बसोबास गरे। उनीहरू एक ठाउँमा मात्रै सीमित भएनन्, सल्यानी, रूकुम, रोल्पा, जाजरकोट अनि पश्चिमका अन्य जिल्लातिर फैलिँदै गए।
महिलालाई नाचगान गराउने र यौन कार्यमा लगाउने त्यतिबेलाका शासकहरूको रवैया थियो। यौन सेवा लिएबापत उनीहरूलाई बास बस्न, जमिन र जीविकाका लागि खर्च दिइन्थ्यो।
सन् १९५० पछिको राजनीतिक परिवर्तनपछि प्रत्यक्ष रूपमा शासकहरूले नागरिकलाई त्यसरी नचाउने अनि यौन सेवा लिएर मनोरञ्जन लिने चलन हराउँदै गयो। आम नागरिकले सेवा लिन थाले। उनीहरूलाई ‘सेक्स वर्कर’ भन्न थालियो।
सीमित जिल्लाबाट यौन व्यवसाय शुरुवात भए पनि अहिले नेपालभर झन्डै एक लाख यौन व्यवसायी छन्। महिला मात्रै नभएर पुरुष अनि लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि छन्।
नेपालमा यौन व्यवसाय सन् १९६० देखि ८० को दशकमा विस्तार भएको मानिन्छ। अन्तर्राष्ट्रिय सहायता, व्यापारिक सम्बन्ध र उपभोक्ता विस्तारले काठमाडौं लगायतका शहरहरूमा होटल, रेस्टुरेन्ट, लजहरू बढे। पर्यटनको विकाससँगै यौन व्यापार काठमाडौं र पूर्व-पश्चिम राजमार्ग छेउका भान्साघर-रेस्टुरेन्टहरूमा फैलन थाल्यो।
सन् १९९० को दशकसम्म काठमाडौंमै तीन हजार ५ सयदेखि ५ हजार महिला पूर्ण वा आंशिक यौन व्यवसायमा संलग्न थिए। निजी क्षेत्रले व्यवसाय गर्न सक्नु, नेपालीको किन्न सक्ने क्षमता बढ्दै जानुले नेपालमा यौन बजार फैलायो।
सन् १९९० को दशकसम्म पनि यौन व्यवसाय नेपालमा भूमिगत नै थियो। गोपनीयता अत्यन्तै महत्त्वपूर्ण थियो। तर, माओवादी द्वन्द्वपछिको विस्थापन र बढ्दो शहरीकरणसँगै यौन व्यवसायमा संलग्न हुनेहरूको संख्या बढ्दै गयो।
सन् २००८ मा महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रालयद्वारा गरिएको अर्को अध्ययनले नेपालमा करिब ३० हजारदेखि ४० हजार महिला यौनकर्मी रहेको अनुमान गरेको थियो।
पछिल्लो समय यौनकर्मीको संख्या ह्वात्तै बढेको देखिन्छ। सन् २०१७ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिएको अनुमानअनुसार नेपालमा ४३ हजार ८ सय २९ देखि ५४ हजार १ सय ९७ महिला यौनकर्मीहरू, ८९ हजार ८ सय २६ देखि १ लाख ११ हजार ८ सय ५२ ट्रान्सजेन्डर यौनकर्मीहरू, १५ हजार ९ सय ४१ देखि २० हजार ६ सय २५ पुरुष यौनकर्मीहरू र ५३ हजार १ सय ८५ देखि ६७ हजार ६४ पुरुष समलिङ्गी यौनकर्मीहरू थिए।
तर, पुरुष यौनकर्मीहरूबारे कुनै पृथक अध्ययन उपलब्ध छैन। यी सबै तथ्याङ्कहरू केवल अनुमान हुन्। अहिलेसम्म नेपालमा यौनकर्मीहरूको वास्तविक संख्या पत्ता लगाउन कुनै ठोस अध्ययन भएको छैन।
तथ्याङ्कले हालका वर्षहरूमा यौनकर्मीहरूको संख्या वृद्धि भएको देखाउँछ। यौन व्यवसायसँग सम्बन्धित संस्थाहरूको सम्पर्कमा रहेका र संस्थाहरूको सम्पर्कबाहिर लुकेर काम गर्ने यौनकर्मीहरूको अनुमानित संख्या त्यही आसपास रहन्छ।
त्यसैले नेपालमा यौनकर्मीहरूको समग्र अनुमानित संख्या १ लाख ६० हजार देखि २ लाखको बीचमा रहेको सन् २०२२ मा प्रकाशित राष्ट्रिय योजना आयोगको तथ्याङ्कमा उल्लेख छ।
उसो भए अहिले कति छन् त?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनअनुसार अहिले नेपालमा महिला यौन व्यवसायी नै धेरै छन्। महिला यौन कर्मीको संख्या ८६ हजार छ भने पुरुष २५ हजार र अन्य लैङ्गिक समूहका १ लाख ३७ हजार छन्।
नेपालमा यौन व्यवसायमा लाग्नेको संख्या ४० वर्षमुनिकाको सबैभन्दा धेरै देखिन्छ। आयोगले गरेको अनुसन्धानमा उमेर समूहअनुसार हेर्दा २२ प्रतिशत यौनकर्मीहरू १८ देखि २५ वर्ष समूहमा परेका छन्, ३९ प्रतिशत २६ देखि ३० वर्ष समूहमा, र ३४ प्रतिशत ३० देखि ४० वर्ष समूहमा रहेका छन्। केवल ५ प्रतिशत यौनकर्मीहरू मात्रै ४० वर्षभन्दा माथिको उमेर समूहमा थिए।
कानुन नभए पनि मौन समर्थन
नेपालमा यौन व्यवसाय परापूर्वकालदेखि हुँदै आए तापनि यो व्यवसाय सम्बन्धी कानुन छैन। स्वसा नेपालकी प्रतिनिधि शान्ति री अहिले पनि नेपालमा यौन व्यवसायलाई अपराध मान्ने गरेको बताउँछिन्।
‘हाम्रो माग यौन व्यवसायलाई निरअपराधीकरण गर्नुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘यौन व्यवसायको कुरा गर्नेबित्तिकै ‘रेड लाइट एरिया’ खोल्ने कुरा उठ्छ, यो तरिका ठीक होइन। रेड लाइट एरियामा काम गर्ने भन्नेबित्तिकै उनीहरूलाई समाजले हेर्ने नजर नै फरक हुन्छ।’
संसारभर यौन व्यवसायलाई उति राम्रो दृष्टिकोणमा हेरिँदैन। तर, केही देशले यौन व्यवसायलाई कानुनी मान्यता दिएका छन्।
‘द इकोनोमिस्ट’ मा यही जुन २८ मा छापिएको समाचारअनुसार दशकौंसम्म स्वीडेनलाई यौन स्वतन्त्रताको पर्याय नै ठानिन्थ्यो। सन् १९६० मा स्विडेनी फिल्मलाई ‘पाप, नग्नता, र मादकता’ तर्फ उन्मुख भएको समेत मानिन्थ्यो। पोर्न फिल्मलाई वैधता दिने दोस्रो देश डेनमार्क रह्यो।
सन् १९७१ सम्म स्वीडेनले पोर्न फिल्म हेर्न दिए तापनि यौन सेवा दिने मामिलामा भने कडा नीति लिएको थियो।
सन् १९९९ मा स्वीडेनले ‘नर्डिक मोडल’ लागू गर्यो। जसमा यौन सेवा खरिद गर्ने ग्राहकलाई अपराधी मानिन्छ, तर सेवा बेच्ने महिलालाई मानिँदैन।
यसको मुख्य उद्देश्य कमजोर महिलाहरूको सुरक्षा थियो। पछिल्ला वर्षहरूमा फ्रान्स, आयरल्यान्ड, इजरायल, अमेरिका लगायतका देशहरूले पनि यस्तै (ग्राहकलाई दण्डित गर्ने) नीति अपनाएका छन्। स्कटल्याण्डले भने यौन व्यवसायलाई वैध बनाउनेबारे विचाराधीन अवस्थामै छ।
बंगाली अनुसन्धाता सुतिर्थ सहारियाले नेपालका यौन व्यवसायी महिलाहरूबारे गरेको अध्ययनअनुसार दक्षिण-पूर्वी एसियाका केही मुलुकहरू-जसमा कम्बोडिया, भियतनाम र थाइल्याण्डमा यौन व्यवसाय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ।
विशेषतः भियतनाम युद्ध र शीतयुद्धका समयमा अमेरिकी सेनालाई सेवा दिन स्थानीय महिलाहरू प्रयोग गरिए। पछि यो व्यवसाय बन्यो। नेपालमा यौन व्यवसाय गैरकानुनी भए पनि ‘अनौपचारिक मनोरञ्जन क्षेत्र’लाई सरकारले मौन रूपमा स्वीकार गरेको अनुसन्धानमा उल्लेख छ।
अनुसन्धान अनुसार नेपाली महिलाहरूले पढाइको अभाव, नयाँ सीपको कमी हुनु, र राम्रो वैकल्पिक रोजगारीको अभावले उनीहरू अनौपचारिक मनोरञ्जन क्षेत्रमा काम गर्न बाध्य छन्। यस्तो रोजगारी गर्दा उनीहरूले हिंसा, सामाजिक हेला र मानसिक पीडा झेल्नुपर्ने अनुभव साझा गरे।
नेपालको सन्दर्भ मात्र होइन, एसियाका अन्य देशहरूमा पनि यौन व्यवसाय र अनौपचारिक मनोरञ्जन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ। आर्थिक अभाव, रोजगारीको संकट र सामाजिक विकल्पको कमीले गर्दा महिलाहरू यो क्षेत्रलाई नै ‘विकल्प’को रूपमा रोजिरहेको उक्त अनुसन्धानको निष्कर्ष छ।
फेरिएको यौन व्यवसाय
विश्वव्यापीकरणसँगै, शहरहरूमा यौन व्यवसाय नयाँ-नयाँ रूप लिएर फैलिँदै गइरहेको छ। स्ट्रिप क्लब, ल्याप डान्स, यौन पर्यटन र केही देशमा ‘लाइसेन्स प्राप्त पार्लर’ जस्ता नामले ‘एडल्ट इन्टरटेन्मेन्ट’को रूपमा विकसित हुँदै गयो।
सुतिर्थको अध्ययन अनुसार मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको ठूलो संख्याले सन् २००२ मा ग्राहकको दबाबमा थप काम गर्न बाध्य रहेको बताएका थिए।
सन् १९९९ ताका काठमाडौंको ‘क्याबिन रेष्टुरेन्ट’ संस्कृति अर्कै थियो। अध्ययन अनुसार, १९९० को दशकमा क्याबिन रेष्टुरेन्ट संस्कृतिले काठमाडौंलाई यौन र मनोरञ्जनको केन्द्र बनायो। त्यसपछि त झन् यो व्यवसाय मौलाउँदै गयो।
प्रविधिले यौन व्यवसाय गर्ने तरिका समेत बदललिएको छ। ‘द इकोनोमिष्ट’ अनुसार स्वीडेनले यौन व्यवसायलाई डिजिटल दुनियाँसम्म विस्तार गर्दैछ। जुलाई १ देखि नयाँ कानुन लागू भएको यहाँ ‘वन्लीफ्यान्स’ जस्ता साइटहरूमा यौन क्रियाकलाप प्रस्तुत गर्नेहरूलाई कारबाही गरिनेछ।
यौन सेवा क्रमशः अनलाइन र डिजिटल हुँदै गएको बेला स्वीडेनले यस्तो कानुन ल्यायो। धेरैजसोले सडक वा स्थलगत सम्पर्कको साटो अब विज्ञापन वा सेवा दुवै अनलाइनमार्फत गर्न थालेका छन्। अब यौन सामग्री किनबेच गर्न सजिलो मात्र छैन, सामाजिक रूपमा पनि यो क्रमशः ‘सामान्यीकृत’ हुँदै गएको देखिन्छ।
उदाहरणका लागि, १४ प्रतिशत अमेरिकी युवाहरूले ‘वन्लीफ्यान्स’मा सामग्री बेच्नेबारे सोचिरहेका छन्, र १६ प्रतिशतले आफू ‘सुगर बेबी’ बन्ने अर्थात् यौन वा भावनात्मक सम्बन्धको सट्टामा आर्थिक फाइदा लिने विचार गरिरहेका छन्।
ब्रिटेनमा अनलाइन प्रयोगकर्तामध्ये प्रत्येक १० जनामा एक जनाले लाइभ वेबक्याम सेक्स साइट भ्रमण गरेका छन्।
नेपालमा पनि प्रविधिसँगै यौन व्यवसायको शैली बदललिएको छ। ग्राहकसँगको सम्पर्कमा सूचना प्रविधिको प्रयोग बढ्दो छ। यसले जोखिम पनि बढाइरहेको छ। अनलाइन प्रयोगबाट १८ वर्षमुनिका नाबालिगहरूलाई दुरुपयोगको घटना बढ्दै गएको एक अनुसन्धानले देखायो।
अनिता घिमिरे, फिओना स्यामुल्से, र सर्मिला मैनालीले सन् २०२१ मा गरेको अनुसन्धानअनुसार पछिल्ला वर्षहरूमा मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले यौन सेवा प्रविधिमार्फत ‘भर्चुअल’ हुन थालेको छ।
धेरैजसो युवतीहरू आफैँ ग्राहक खोज्छन्, कतिपयको हकमा भने मालिक वा दलाल मोबाइलमार्फत समन्वय गर्छन्। यो विशेषगरी काठमाडौं, झापा, सुनसरी जस्ता जिल्लामा फैलिएको देखिएको छ।
प्रविधिको प्रयोगले स्थापनामा आधारित यौन सेवाको स्थान घटाएको छ भने, यस्ता किशोरीहरूको संख्या अनुमान गर्न अझै गाह्रो बनाएको छ। हालसम्म यस्ता बालिका र युवतीको न त सरकारी तथ्याङ्क छ, न त व्यवस्थित सर्वेक्षण।
कोही किन यौन व्यवसाय गर्छ ?
अमेरिकी अर्थशास्त्री डा. मरिना एडशेड ‘डलर एण्ड सेक्स हाउ इकोनोमिक्स इन्फ्लुएन्स सेक्स एण्ड लभ’मा प्रविधि, शिक्षा र प्रेम-यौन सम्बन्धले अर्थतन्त्र नै बदललिएको दाबी गर्छिन्।
उनका अनुसार अर्थशास्त्रले मुख्यतः दुई शाखाको अध्ययन गर्छ: सूक्ष्म र बृहत् अर्थशास्त्र। प्रेम र यौन बजारको आर्थिक विश्लेषण सूक्ष्म अर्थशास्त्रीहरूले विकास गरेका सिद्धान्तअनुसार गरिन्छ।
तर, यौनसम्बन्धी बजारहरूको अध्ययन गर्दै जाँदा, ती बजारमा बृहत् आर्थिक पक्ष- शिक्षा, प्रविधि, राष्ट्रिय आय, बेरोजगारी, उपभोग, बचत र आय अन्तरजस्ता तत्वहरूको गहिरो प्रभाव देखिन थालेको छ। यिनै कारणले हाम्रो व्यक्तिगत यौन र सम्बन्ध सम्बन्धी निर्णयहरूलाई आकार दिइरहेका छन्।
उनले थप उदाहरण दिँदै लेखेकी छन्, ‘२०औं शताब्दीमा रोजगारीमा शिक्षाको महत्त्व बढेसँगै विवाहपूर्व यौनसम्बन्धबारे सामाजिक सोच बदलियो। कलेजहरूमा महिलाहरूको उच्च सहभागिताले यौन स्वतन्त्रता बढाएको देखियो। शिक्षित महिलाहरू कम शिक्षित पुरुषसँग विवाह गर्न थालिरहेका छन्। यस्तै, इन्टरनेट प्रविधिको विकासले समानस्तरको शिक्षा र आम्दानी भएका जोडीहरू जुर्न थालेका छन्। जसले सम्बन्धको गुणस्तर बढाएको र सम्बन्ध स्थायित्वमा योगदान दिएको पाइएको छ।’
उनका अनुसार औद्योगीकरणले विवाहको ढाँचा नै पुनः परिभाषित गरेको छ। समान लैङ्गिक विवाहप्रति सहिष्णुता पनि ती परिवर्तनहरूमै आधारित छ।
महिलाको आम्दानी क्षमता बढेसँगै, दाम्पत्य जीवनमा निर्णय लिने तरिका फेरिएको छ। तर अर्कोतर्फ, धनी र गरिबबीचको बढ्दो खाडलले सम्बन्धमा अस्थिरता ल्याइरहेको छ। निम्न आय भएका किशोरकिशोरीहरू बढी जोखिमपूर्ण यौन व्यवहारमा संलग्न हुन थालेका छन्।
यदि भविष्यमा समाजको प्रेम र विवाह प्रवृत्ति कता जाँदैछ भन्ने थाहा पाउन चाहने हो भने, यी बृहत् आर्थिक परिवर्तनका प्रभावलाई नजरअन्दाज गर्न मिल्दैन।
उनका अनुसार मुख्यतः दुई प्रवृत्तिहरू आगामी वर्षहरूमा सम्बन्धको स्वरूप बदलने मुख्य कारण हुन्छन्: प्रविधिमा भइरहेको तीव्र परिवर्तन र पुरुष-महिला बीचको बढ्दो शैक्षिक अन्तर। यी दुवैले पछिल्ला दुई दशकमा गहिरो प्रभाव पारेका छन् र भविष्यमा पनि त्यस्तै असर गर्ने सङ्केत छन्।
यति मात्रै होइन प्रविधिले यौन व्यवहार फरक पारेको छ। गर्भनिरोधक प्रविधिमा २०औं शताब्दीको बीचतिर भएको विकासले विवाहपूर्व यौन सम्बन्धसँग जोडिएका जोखिमहरू घटायो। जसले गर्दा आकस्मिक यौन सम्बन्धहरू बढ्दै गए। अनपेक्षित गर्भ र यौन रोगहरूमा पनि वृद्धि देखियो र मानिसहरूले ढिलो विवाह गर्न थाले। प्रविधि विकास भएकैले धेरै यौन व्यवसाय बढेको उनको भनाइ छ।
नेपालमा अन्वेषणका अनेक विधि अपनाएर यौन व्यवसायीहरूबारे अध्ययन गरिए पनि उनीहरूको खास आम्दानी कति हुन्छ, उनीहरूलाई यौनजन्य रोगहरू लागिहालेमा कसले उपचार गर्छ, उनीहरूको सामाजिक सुरक्षाको प्रबन्ध खुल्दैन।
स्वसा नेपालकी प्रतिनिधि तिवारी सामाजिक सुरक्षा कोष त परको कुरा, यौन व्यवसायी ६० प्रतिशत महिलाको नागरिकता समेत नभएको र यदि सन्तान जन्मिहालेमा तिनलाई नागरिकता दिनसमेत समस्या हुने बताइन्।
‘धेरैजसो महिला दिदीबहिनीहरूको नागरिकता समेत छैन,’ उनले भनिन्, ‘शारीरिक सुरक्षा र सामाजिक सुरक्षा त परको कुरा।’
उनी यौन व्यवसायलाई नै उपयुक्त ठानेकाहरूले यही व्यवसाय गर्न दिनुपर्ने तर्क राख्छिन्।
‘यदि कसैले यौन व्यवसाय गर्न चाहन्छ भने उसलाई यो पेशा गर्न दिनुपर्छ,’ उनले भनिन्, ‘यहाँ त यो पेशालाई नै बदनाम भएर छिः छिः र दुरदुर गर्ने गरेका छन्।’
महिला स्वतन्त्रता कि उपभोक्तावादी संस्कृतिको सिकार
यौन व्यवसायलाई लिएर युरोप-अमेरिकी सन्दर्भमा दुई फरक सिद्धान्तगत धाराहरू विकसित भएका छन्- ‘दमन’ र ‘सशक्तीकरण’।
दमनको अर्थ : यौन व्यवसाय पितृसत्तात्मक सोच र लैङ्गिक असमानताको अर्को स्वरूप हो। यसले शोषण, हिंसा र अधीनता यौन व्यवसायसँगै गाँसिएको छ। यो हटाउनै सकिँदैन।
यसले यौन व्यवसायलाई आपराधिक, विकृत र समाजका लागि हानिकारक अभ्यासका रूपमा व्याख्या गर्छ।
तर, अहिलेको यौन व्यवसायको दायरा भने केवल कोठीमा सीमित छैन। यौन सेवा भन्नाले आज पार्लर, डान्सबार, एस्कर्ट सेवा वा अन्य स्थानहरूमा हुने यौन र पैसाको लेनदेनलाई पनि बुझिन्छ।
नेपालमा त झन् यस्ता रूपहरू विस्तार हुँदै गएका छन्। अन्तर्राष्ट्रिय अध्ययनहरू अनुसार, एक्सोटिक डान्स (यौन सङ्केत दिने नृत्य) आज यौन उद्योगको महत्त्वपूर्ण र फस्टाउँदै गएको पाटो हो।
दोस्रो धार: यौन व्यवसायलाई सशक्तीकरणको रूपमा हेर्नेहरू पनि छन्। अध्ययन अनुसार महिलाले आफ्नो यौनिकता र भावनालाई पेशागत रूपमा अलग राख्दै शरीरलाई श्रमको साधनका रूपमा प्रयोग गर्छिन्।
यसरी हेर्दा यौन व्यवसाय पनि अन्य पेशाजस्तै श्रम हो- जहाँ महिला आफ्नै शरीरमाथि नियन्त्रण राख्छिन्, निर्णय लिन्छिन्, र शोषण वा हिंसा सामना गर्न सक्ने आत्मबल बनाउँछिन्।
अर्को अध्ययन अनुसार यौन उद्योगमा काम गर्ने महिलाहरूमा आफूलाई नियन्त्रित राख्ने क्षमता आउँछ र यही भावनात्मक नियन्त्रणले उनीहरूलाई उत्पीडन र दुर्व्यवहारको सामना गर्न थप सक्षम बनाउँछ।
स्वेच्छिक रूपमा यौन व्यवसाय गर्नेहरूले दोस्रो धार समाउने गरेका छन् भने ‘बाध्यता’ले यो पेशा गर्नेले पहिलो धार समाउने गरेका छन्।
धार जतिसुकै हुन्, यौन व्यवसाय नौलो पेशा होइन। समयअनुसार परिवर्तन हुँदै गएको पेशा भने हो।
असार २०, २०८२ शुक्रबार १३:३७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।