तालिबान सरकारलाई औपचारिक मान्यता दिने पहिलो देश बन्यो रुस

काठमाडौं : रुस अफगानिस्तानको तालिबान सरकारलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले रुसको यस निर्णयलाई ‘साहसी’ कदम भन्दै प्रशंसा गरेका छन्।
बिहीबार काबुलमा रुसी राजदूत दिमित्री झिरनोभले विदेशमन्त्री मुत्ताकीसँग भेटवार्ता गरी आफ्नो सरकारले अफगानिस्तानको ‘इस्लामिक इमिरेट्स’लाई औपचारिक रूपमा मान्यता दिएको जानकारी गराएका थिए।
मुत्ताकीले यो मान्यता ‘सकारात्मक सम्बन्ध, पारस्परिक सम्मान र रचनात्मक साझेदारीको नयाँ चरण’को सुरुवात भएको र यसले अन्य देशहरूको लागि पनि ‘उदाहरण’ स्थापित गर्ने विश्वास व्यक्त गरे।
अगस्ट २०२१ मा सत्तामा फर्किएदेखि, मानव अधिकार उल्लङ्घन बढ्दै गएको रिपोर्टहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानी खोज्दै आएको छ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक मान्यताले हाम्रा देशहरू बीचको द्विपक्षीय सहयोगको विकासलाई प्रवर्द्धन गर्नेछ। रुसले ऊर्जा, यातायात, कृषि र पूर्वाधारजस्ता क्षेत्रमा व्यावसायिक र आर्थिक सहयोगको ठूलो सम्भावना देखेको र आतंकवाद तथा लागूपदार्थको तस्करीविरुद्ध लड्न काबुललाई मद्दत जारी राख्ने बताएको छ।’
रुसले तालिबानसँग लगातार सम्बन्ध कायम राख्दै आएको थियो। २०२१ मा तालिबान सत्तामा आएपछि काबुलमा आफ्नो दूतावास खुला राख्ने केही सीमित देशमध्ये रुस एक थियो। सन् २०२२ मा यसले तालिबानसँग तेल, ग्यास र गहुँ आपूर्तिका लागि पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्झौतामा हस्ताक्षर गरेको थियो।
रुसी विदेश मन्त्रालयले यस वर्ष अप्रिलमा तालिबानलाई आफ्नो आतंकवादी संगठनको सूचीबाट हटाएको घोषणा गरेको थियो। गत वर्ष जुलाईमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि तालिबानलाई आतंकवादविरुद्ध लड्ने ‘सहयोगी’ भनेका थिए। यसअघि २०१८ को सुरुवातमा पनि तालिबान प्रतिनिधिमण्डलले वार्ताका लागि रुसी राजधानी मस्कोको भ्रमण गरेको थियो।
यद्यपि, यी दुई देशको इतिहास निकै जटिल छ। सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गरी करिब नौ वर्ष लामो युद्ध लडेको थियो, जसमा १५ हजार सोभियत सैनिक मारिएका थिए। सोभियत सेना सन् १९८९ को फेब्रुअरीमा अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएको थियो।
असार २०, २०८२ शुक्रबार ११:३५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।