ट्र्म्पको प्रतिष्ठासँग जोडिएको ‘बिग ब्युटिफुल बिल’ तल्लो सदनबाट पनि पारित

काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कटौती गर्ने भनिएको ‘बिग ब्युटिफुल बिल’ अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाले बिहीबार पारित गरेको छ।
प्रतिनिधि सभामा विधेयकको समर्थनमा २१८ जना सांसदले मतदान गरे भने विपक्षमा २१४ जनाले मतदान गरे। ट्रम्पको आफ्नै पार्टी (रिपब्लिकन) का दुई सांसद थोमस मासी र ब्रायन फिट्जप्याट्रिकले विधेयकको विपक्षमा मतदान गरेका थिए।
यो विधेयक अमेरिकी संसदको माथिल्लो सदन सिनेटले प्रतिनिधि सभाबाट पारित हुनुभन्दा दुई दिनअघि मात्र ५०-५१ को झिनो मतान्तरले पारित गरेको थियो। सिनेटमा विधेयक पारित गराउनका लागि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मतदान गरेका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, ट्रम्पले यो विधेयकमा अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) मा साँझ ५ बजे एक ठूलो र भव्य समारोहमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
विधेयक पारित भएसँगै एलोन मस्कले शनिबार फेरि एक पटक ट्रम्पको ‘बिग ब्युटिफुल बिल’को कडा आलोचना गरे।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखे, ‘ट्रम्पको यो बिलले अमेरिकामा लाखौं रोजगारी समाप्त पार्नेछ र हाम्रो देशलाई ठूलो रणनीतिक क्षति पुर्याउनेछ। यो पूर्णतया पागलपन र विनाशकारी छ। यो कानूनले पुराना उद्योगहरूलाई राहत दिन्छ, तर भविष्यका उद्योगहरूलाई नष्ट गर्नेछ।’
यस विधेयकलाई लिएर असहमति जनाउँदै गत महिना मात्र मस्कले ट्रम्प प्रशासनमा रहेको सरकारी दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिएका थिए।
यसअघि ट्रम्पले मस्कलाई दिइँदै आएको सरकारी अनुदान बन्द गरियो भने उनले आफ्नो कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने बताएका थिए।
उनले भनेका थिए, ‘अनुदान बन्द भएसँगै न त टेस्लाले विद्युतीय कार उत्पादन गर्न सक्नेछ न त स्पेसएक्सको रकेट र उपग्रह प्रक्षेपण गरिनेछ। मस्कले सरकारी अनुदानको रूपमा अरूले भन्दा धेरै रकम पाएका छन्।’
साथै ट्रम्पले देशको पैसा बचत गर्नका लागि सरकारी दक्षता विभागले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्नुपर्ने समेत बताएका छन्।
असार २०, २०८२ शुक्रबार ०८:५४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।