वर्खा लागेसँगै सौराहामा पर्यटक घटे : १० प्रतिशतमा झर्‍यो होटकलको अकुपेन्सी, जिप सफारी बन्द

वर्खा लागेसँगै सौराहामा पर्यटक घटे : १० प्रतिशतमा झर्‍यो होटकलको अकुपेन्सी, जिप सफारी बन्द

चितवन : पर्यटकीय नगर सौराहामा यो वर्षायाममा पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ।

विगत २५ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका व्यवसायी दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा आफूले कहिल्यै नदेखेको बताए। वर्षा लाग्न थालेपछि पर्यटकीय गतिविधि कम हुने भए पनि खासगरी विदेशी पर्यटकको आगमन नभएको यो पहिलो अनुभव भएको उनले बताए।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका भट्टराईका अनुसार, हाल पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको छ। शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ।

विगतका वर्षको यसै याममा करिब ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेको उनले बताए।

पर्यटकको सङ्ख्यामा कमी आएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन्।

चितवन फरेस्ट रिसोर्टका सञ्चालक भट्टराईले भने, ‘हाल २५ प्रतिशत कर्मचारी मात्र काममा खटिएका छन्।’

उनका अनुसार, बर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेकामा अहिले भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतहमार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेको अनुमान छ।

विसं २०३३ देखि पर्यटन क्षेत्रमा लाग्नुभएका अर्का व्यवसायी गिरिधारी चौधरी भने आर्थिक मन्दीलाई पर्यटक आगमन घट्नुको मुख्य कारण मान्छन्। उनका अनुसार, काठमाडौं र बुटवलबाट आउने सडकको अवस्था असहज हुनुका साथै हवाई यातायातको अनियमितताले पनि पर्यटक आवागमनमा असर पारेको छ।

सौराहामा आउने पर्यटक निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने तथा वन एवं वन्यजन्तु अवलोकन गर्न रुचाउँछन्। चितवन राष्ट्रिय निकुञ्जले भने बर्खा लागेसँगै जिप सफारी बन्द गरेको छ।

सौराहामा करिब १५० होटल सञ्चालनमा छन् । आठ हजार बढी शय्या क्षमता भएका यी होटलमा छ हजारभन्दा बढीले रोजगारी पाएका छन्।

असार २०, २०८२ शुक्रबार ०८:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।