एन्फाको चरम लापरबाहीले उजाडियो ६ आमाको काख, न प्रधानमन्त्रीलाई चासो न गृहमन्त्रीलाई

काठमाडौं : बाराकी कमला रेग्मीलाई लागिरहन्छ ‘छोराले भनेको मानेको भए।’ उनले फुटबल नखेल, पढाइमै ध्यान देउ भनिरहिन्। तर ११ वर्षदेखि खेलिरहेको खेल विकल रेग्मीले छाड्न सकेनन्।
फुटबल मोहले कलिलैमा ज्यान गुमाए विकलले। कमलाको मनमा नभरिने घाउ बस्यो। यसमा गल्ती न आमाको हो न छोराको। कारण अखिल नेपाल फुटबल संघको बदमासी।
‘छोरालाई पढाइ गर, फुटबलमा भविष्य छैन भन्दा छोराले राष्ट्रिय खेलाडी हुन्छु ममी, पढाइलाई पनि अघि बढाउँछु भनेको थियो। तर पहिरोमा पर्यो’, छोरा सम्झँदै कमलाले उकेरासँग भनिन्।
एन्फाले आयोजना गरेको अन्डर-१३ मा विकल छानिए। २०८१ बैशाख १२ गते छनोट भएका रेग्मी बारा जिल्ला हुँदै मधेश प्रदेश हुँदै केन्द्रमा छनोट भएका थिए।
एन्फा एकेडेमीमा नाम निकालेका विकल कक्षा ८ मा पढ्दै थिए। देशभरका ७ हजारमा छानिएपछि जेठ ६ गते उनीसहित ४० जना खेलाडी मकवानपुरको सिस्नेरीमा सञ्चालित एन्फाको एकेडेमीमा पुगेका थिए।
२०८१ सालको अविरल वर्षापछि कुलेखानी ड्यामको पानी खोलियो। सुरक्षित स्थानमा जाँदाजाँदै उनीसहित ६ जना पहिरोमा पुरिए।
कमला मात्र होइन, २०८१ सालको बाढीका कारण आमाको काखका ६ सन्तान गुमे। २०८१ साल असोज १२ गते सिस्नेरी खोलाको पहिरोमा परी रेग्मीसहित मकवानपुर हेटौंडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, मकवानपुरकै सिस्नेरी टेकरका दिवस बानियाँ, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्यको ज्यान गयो।
०००
११ वर्षका प्रियान्स एन्फा एकेडेमीमा फुटबल सिक्दै थिए। घरबाट टाढा पठाउन मन नलागेर उनलाई छनोटमा नपार्न बाबु टीका आचार्यले प्रयास गरे। एन्फाकै दिपक खतिवडाले राम्रो खेल्ने भएकोले एकेडेमीमा पठाउन अनुमति मागे। बारम्बारको आग्रहपछि सिस्नेरी पठाउन राजी भए।
‘बाबु ११ वर्षको मात्र थियो। कोचहरूले सेलेक्सन गर्दा पनि मैले पठाउन मानिरहेको थिइनँ। कोचलाई सेलेक्सन नगर्नु भनेको थिएँ,’ उनले भने, ‘पछि एन्फाकै दिपक खतिवडा दाइले बाबुले राम्रो खेल्छ, भविष्य बन्छ भनेपछि मैले इन्कार गर्न सकिनँ।’
सर्लाहीका आदित्य बलम्पाखीकी आमा क्यान्सरको उपचारमा छिन्। आफ्नो बासस्थान समेत नभएका बलम्पाखी परिवारलाई भरत बहादुर थापाले आश्रय दिएका छन्। उनैको खेतीपाती हेर्छन्।
थापा परिवार नै आदित्यको संरक्षक थिए। राष्ट्रिय खेलाडी भएर बाबुआमालाई सुख दिने सपना बोकेका आदित्य पनि सिस्नेरी पहिरोमा बिलाए।
आदित्यका संरक्षक रहेका थापाका अनुसार आदित्य जिल्ला, प्रदेश हुँदै केन्द्रमा छनोट भएका थिए। २०८१ बैशाखमा मात्रै उनी एन्फा एकेडेमीको लागि छनोट भएको संरक्षक थापा बताउँछन्।
‘पढ्दै, खेल्दै थियो। स्कुलमा पनि राम्रो खेल्ने, टिममा पर्ने। स्कुल, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो। छनोट भएको ५ महिनामा यस्तो घटना घट्यो,’ भावुक हुँदै उनले भने।
छनोट भएको ५ महिनामा उनी पनि पहिरोमा परेर मारिए।
मकवानपुरगढी गाउँपालिका घर भएका साइमन योन्जन भानु माविमा पढ्दै थिए। परिवारमा उनकी दिदी पनि जिल्लास्तरीय फुटबल खेलाडी भएकोले उनी पनि फुटबलतिर आकर्षित भए।
स्कुलस्तरमै राम्रो खेल्ने भएकोले शिक्षकहरूले पनि उनका बाबु हेम योन्जनलाई एकेडेमी पठाउन आग्रह गरे। सोही अनुसार २०८१ बैशाखमा उनले हेटौंडामै छनोट खेल खेलेर छनोट भए। त्यसपछि पुनः सिस्नेरीमा आएर खेल्दा एकेडेमीमा बस्ने गरी छनोट भए।
‘घटना हुनुभन्दा ५ महिना अगाडि ट्रायल दियो। सिस्नेरीमा गएर पनि छनोट खेल खेलेको थियो। त्यसपछि ऊ छनोटमा पर्यो अनि एकेडेमीमा बस्न थालेको थियो,’ उनी भन्छन्, ‘राम्रो खेल्ने भएकोले शिक्षकहरूले नै फुटबल खेल्न प्रेरणा दिएका थिए। सरहरूले नै सल्लाह गरेर उसलाई एकेडेमीमा पठाउनुपर्छ भन्नुभयो। दिदीहरू पनि जिल्लास्तरीय फुटबल खेलिसकेकोले पारिवारिक माहोल पनि खेलतिरै थियो।’
हेटौंडाका अनुपम पनि जिल्ला, प्रदेशमा छनोट भए तर केन्द्रको छनोट प्रतियोगितामा छानिएनन्। तर, पछि एन्फाले टिममा लियो।
पारिवारिक माहोल नै फुटबल रहेको घलान परिवारमा अनुपमकी आमा समेत खेलाडी हुन् भने मामा प्रशिक्षक हुन्। अनि छोराले पनि खेलाडी बन्ने सपना देखेको उनका बाबु ललित घलानले बताए।
‘जिल्ला, प्रदेशमा छनोट भए पनि केन्द्रमा छनोट भएको थिएन। पछि छनोट लिस्टमा नाम आयो। अनि हामीले पठाइदिएको। परिवारमा आमा खेलाडी र मामा कोच थिए। यसरी पठाएको केटा गएको ५ महिनामा पहिरोमा पुरियो भन्ने खबर आयो’, उनले भने।
कक्षा ७ मा पढिरहेका दिवस बानियाँ सिस्नेरी टेकरका स्थानीय थिए। सिस्नेरी एकेडेमीमै २०८१ बैशाखमा भएको छनोट प्रतियोगिताबाट छनोट भएका दिवसले घटनाको दिन नै आफ्नो बुबालाई फोन गरेर एकेडेमीबाट निकालिएको बताएको उनका दाइ बिबस बानियाँले उकेरालाई बताए।
‘भाइले बाबालाई फोन गरेर हामी त निस्कन लागेको भनेको थियो। वार्डेनहरूले पुरै पानीमा उनीहरूको झोला समेत बोकाएको रहेछ,’ उनी भन्छन्, ‘खोला बढेपछि भाग भाग भनिदिएछन्। राम्रो बाटो जान लाग्दा वार्डेनले पहिरो झरेको अप्ठ्यारो जान भनेछन्। त्यसरी जाने क्रममा भाइहरूलाई पहिरोले खिच्यो।’
बिबस बानियाँलाई घटना भए लगत्तै सुरक्षा गार्डले फोन गरेर घटनाबारे जानकारी दिएका थिए। सुने लगत्तै घरबाट आधा घण्टाको दुरीमा रहेको घटनास्थल पुगेर पहिरो पन्छाए।
भाइ जिउँदै छ कि भनेर पहिरो पन्छाउन लागे। गाउँका सहयोगीहरू थपिए। केही सहयोगीहरू पहिरोमा परे, धन्न उनी बाँचे।
‘म जाँदा त भाइहरू पुरिइसकेका थिए। कसैले पहिरो पन्छाएको थिएन। हामीले नै पहिरो पन्छाउन लाग्यौँ,’ उनले भने, ‘३ वटा लास देखिसकेका थियौँ, फेरि पहिरो आएर हामीलाई पनि थिच्यो। १५ जना जति गएकोले अरूले हामीलाई निकाले।’
एन्फाको गम्भीर लापरबाहीले गयो कलिलाको ज्यान
सातदोबाटोमै एन्फा एकेडेमी छ। तर, २०८० चैतमा एन्फाले सिस्नेरीमा एकेडेमी सञ्चालनमा ल्याएको थियो। एकेडेमीसँगै रहेको वत्सलादेवी मावि सिभिल इन्जिनियरिङ शिक्षालयबीच सम्झौता भएपछि खेलाडीलाई प्रशिक्षणको लागि २०८१ जेठबाट सिस्नेरी लगियो।
संविधान सभा सदस्य रहिसकेका सुवासचन्द्र ठकुरी वत्सलादेवी माविको अध्यक्ष र एन्फा एकेडेमीको संयोजक हुन्। उनैको जोडबलमा एकेडेमी त्यहाँ गएको थियो। एकेडेमीमा छनोट भएका युवा खेलाडी राखिएका थिए।
निरन्तर पानी परिरहेपछि कुलेखानी जलविद्युत् केन्द्रले कुलेखानी ड्याम तलको नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन सूचना निकाल्यो। २०८१ असोज १२ गते ड्याम भरिएपछि केन्द्रले साँझ ५ बजे ड्यामको ढोका खोल्यो।
पहिल्यै खोलाको जल सतह बढी सकेको थियो। ड्यामको पानी खुलेपछि एकेडेमी भएको घर समेत असुरक्षित भयो। बालबालिकालाई सुरक्षित स्थान लैजान ढिला भयो। हतार-हतार सामान बोकेर हिँडेका बालबालिकामध्ये ६ जना पहिरोमा पुरिए।
घटनाको मुख्य कारण जोखिमपूर्ण स्थानमा एकेडेमी राख्नु, पानी पर्न थालेपछि विपद् जोखिमको तयारी नगर्नु, जलविद्युत् केन्द्रको सूचनाको बेवास्ता र जोखिम भएपछि योजनाबद्ध रूपमा बालबालिकालाई सुरक्षित स्थानमा नलैजानु देखियो।
लगातारको वर्षापछि इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको थियो। जलविद्युत् केन्द्रले ११ गते राति नै जानकारी गराएको थियो। जलविद्युत् केन्द्रले बागमती नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘अविरल वर्षाको कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा पानीको सतह बढी स्फिल हुन सक्ने साथै चखेल, सिम, मुख्य ड्यामको ढोका पनि खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहाव बढ्न गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुबानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै सो क्षेत्र वरिपरिका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन आवश्यक जानकारी गराइदिनुहुन अनुरोध छ।’
२०८१ असोज १२ गते बिहान ५ बजे जलविद्युत् केन्द्रले ड्याम खोल्दा सिस्नेरी खोला उर्लिएर आउँदा सिस्नेरी बजार नै बगायो। इन्द्रसरोवर गाउँपालिकाले समेत शुक्रबार सूचना जारी गर्दै २ र ३ नम्बर वडामा सतर्कता अपनाउन भनेको थियो।
तर, एकेडेमीको संयोजक जस्तो जिम्मेवार व्यक्ति रहेका ठकुरीले घटनाको अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा जलविद्युत् केन्द्रको सूचनालाई बेवास्ता गरेको देखियो। सूचनापछि आवश्यक तयारीको साटो उनले असोज ११ गते शुक्रबार साँझ कुलेखानीको सूचनालाई जनमानसमा ‘आतंकित’ पार्ने बताएका थिए।
ठकुरीले असोज ११ गते शुक्रबार साँझ कुलेखानीको सूचना आएपछि फेसबुकमा लेखेका थिए, ‘निरन्तर वर्षा भइरहे पनि अझै भरिन बाँकी छ। अघिल्ला वर्षमा राख्दै आएको बोराको चाङ हटाएकोले ओभरफ्लो भई तल्लो तटीयक्षेत्रमा बग्ने छ। साइरन बजाउने, माइकिङ गर्ने सूचना पनि छ त। फेसबुके सूचना गरेपछि पुग्यो त? जोखिम बढे सेना, प्रहरी सबै छन् त। सही सूचना मात्रै सम्प्रेषण गरौँ।’
जब खेलाडीहरूको मृत्यु भयो तब उनले फेसबुकमा लेखेको स्टाटस हटाएका थिए। ठकुरीले घटना भएको भोलिपल्ट सामाजिक सञ्जालमा पूर्व तयारीबिना इन्द्रसरोवर तालको पानी खोल्दा पीडादायी घटना भएको भन्दै दोष जलविद्युत् केन्द्रलाई लगाए।
अन्धाधुन्ध कुदाएका थिए खेलाडी
उकेरालाई प्राप्त भिडियोमा कुलेखानी जलविद्युत् आयोजनाले पानी खोलेपछि एकेडेमीले खेलाडीहरूलाई कुदाएको देख्न सकिन्छ। भिडियोमा झमझम पानी परेको अवस्थाकै बीच खेलाडीहरूलाई अन्धाधुन्ध कुदाएको देखिन्छ।
यस विषयमा उकेराले ठकुरीसँग जिज्ञासा राख्दा उनले एकेडेमीको कुनै गल्ती नभएको, बरु जलविद्युत् आयोजनाका कर्मचारीले रक्सी खाएर पानी खोलेको दाबी गरे।
‘जलविद्युत् केन्द्रले एक्कासी पानी खोल्दा खेलाडीको ज्यान गयो। पानी कति खोल्ने, जिम्मेवार व्यक्ति नबसेर सहयोगीको भरमा पानी खोलेको छ,’ उनले भने, ‘२०५० सालमा नआएको बाढी त्यो दिन आयो। कति पानी खोल्ने भन्ने ख्याल गर्नु पर्थ्यो उनीहरूले।’
उकेराकर्मीले जलविद्युत् केन्द्रले सचेत गराउँदा समेत किन ध्यान नदिएको भन्ने प्रश्नमा उनले हेटौंडाको कुनै पत्रिकामा सूचना टाँसेर नहुने गैरजिम्मेवार जवाफ दिए।
‘काठमाडौं नजिकको ठाउँमा हेटौंडाको कुनै पत्रिकामा सूचना टाँसेर हुन्छ? त्यसमाथि न विद्युत् आएको थियो। अनलाइन हुने अवस्था पनि थिएन। अनलाइनबाट पनि केही थाहा हुन्थ्यो। यदि जलविद्युत् केन्द्रले विस्तारै पानी छोडेको भए घटना घट्दैन थियो’, उनको तर्क छ।
के जलविद्युत् केन्द्रले सूचना ढिलो दिएको हो त? उकेराले यस विषयमा स्थानीय शिव नगरकोटीसँग बुझ्दा ९ गतेदेखि नै प्रहरीले माइकिङ गरेर सचेत रहन र सुरक्षित स्थानमा जान सूचना दिएको खुल्यो। उनले ठकुरीको अति आत्मविश्वासको कारण खेलाडीको ज्यान गएको बताए।
‘प्रहरीले माइकिङ गरेको थियो। सबैलाई सुरक्षित स्थानमा जान र सचेत रहन भनेको थियो। उहाँले नै फेसबुकमा केही नहुने भनेर स्टाटस लेख्नुभएको थियो। तर, जब खेलाडीहरूको मृत्यु भयो, बजार बगाएर लग्यो अनि उहाँले स्टाटस नै डिलिट गर्नुभयो,’ उनले भने।
यसरी हेर्दा खेलाडीको जिम्मेवारी लिएका व्यक्तिको कमजोरी र अव्यवस्थाले खेलाडीको ज्यान गएको देखियो।
...अनि पुरिए ६ खेलाडी
२०८१ असोज १० देखिको लगातार अविरल वर्षा भएको थियो। १२ गते शनिबार बिहान ६ बजे सिस्नेरीस्थित वत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ४० जना बालकसहितको टोलीलाई सुरक्षित स्थानतर्फ जान भनियो। त्यहाँबाट टेकर बजारतिर हिँड्नुअघि आवश्यक सामान पोको पार्न भनियो। टेकर बजारसम्म जान २ वटा बाटो थियो, तर छोटो भनेर असुरक्षित बाटो हुँदै लगियो।
‘जुन बाटोबाट उनीहरू गए त्यो बाटो व्यवस्थित नै थिएन। अर्को बाटो लामो भए पनि अलि व्यवस्थित थियो। छिट्टो पुगिने भएर पनि त्यो बाटोबाट गएका होलान्,’ स्थानीय नगरकोटीले भने।
यस विषयमा ठकुरीसँग बुझ्दा दुवै बाटोबाट बच्चाहरू लगेको दाबी गरे।
‘हामीले दुवै बाटोबाट बच्चाहरू लगेका हौँ। केही बच्चाहरू छोटो बाटो हुँदै जाँदा पनि बजार पुगिसकेका थिए। तर, तिनै ६ जना हिँड्दै गर्दा पहिरो आयो’, उनले भने।
मृतक खेलाडीसँगै हिँडेका ९ जना खेलाडी बेलैमा माथि पुगेर जोगिए। बीचमा रहेका ६ जना पहिरोमा पुरिए। १ जना घाइते भए।
उकेरालाई प्राप्त भिडियोमा समेत बच्चाहरू अन्धाधुन्ध कुदेको जस्तो देख्न सकिन्छ। भिडियोमा जिम्मेवार व्यक्ति कोही देखिँदैनन्। खेलाडीहरू अन्योलकै बीचमा झोला बोकेर कुदेको देख्न सकिन्छ।
जिम्मेवार व्यक्ति किन नदेखिएको भन्नेबारे ठकुरीले घटनास्थलमा आफू नभए पनि कोच लगायतका जिम्मेवार व्यक्तिहरू गएको दाबी गरे।
‘कोच लगायतका जिम्मेवार व्यक्तिहरूकै जिम्मामा उनीहरूलाई सुरक्षित स्थानमा लगेको हो’, उनले दाबी गरे।
‘एन्फाको कमजोरीले बच्चा मारियो’
उकेराले छ जना पीडितका परिवारसँग सिस्नेरी घटनाको विषयमा कुरा गर्दा अधिकांशले एन्फाको गैरजिम्मेवारीका कारण आफ्नो बच्चा मारिएको बताए।
उकेराको सम्पर्कमा आएका विकल रेग्मीकी आमा कमला रेग्मी, प्रियान्स आचार्यका बुबा टीका आचार्य, साइमन योन्जनका बुबा हेम योन्जन, आदित्य बलम्पाखीका संरक्षक भरत बहादुर थापा, दिवस बानियाका दाइ बिबस बानियाँले एन्फाकै कमजोरीले घटना भएको दाबी गरे।
कमला रेग्मीले आफ्नो छोराले घटना हुनुभन्दा केही घण्टा अघिसम्म कुरा गरेको बताइन्।
‘छोराले बिहानै फोन गरेर पानी परिरहेको बताएको थियो। मैले तिमी त्यहाँबाट कतै नजाऊ है भनेको थिएँ। नजिकै को छ भन्दा पाले अंकल छन् भनेको थियो,’ उनले रुँदै भनिन्,‘उनैसँग कुरा गर्दा पनि हामी छौँ चिन्ता नलिनु भनेका थिए। मैले पालेसँग कुरा गरेपछि ‘छोरा’ भनेर बोलाएको थिएँ। उसले ‘हजुर’ भनेको थियो। त्यो नै मेरो छोराको अन्तिम बोली थियो। त्यसपछि मैले बारम्बार फोन गरे तर फोन अफ आयो। पछि त समाचारमा पहिरोमा परेको खबर सुने।’
त्यस्तै भरत बहादुर थापाले समेत एन्फाको गैरजिम्मेवारीले बच्चा मारिएको बताए।
‘बच्चालाई बिहानै गधा जसरी झोला बोकाएर लगेको भिडियोमै देखिन्छ। बच्चा मरेपछि पनि हामीले लास पाउन सकेनौँ। तीन दिनपछि लास पायौँ,’ थापाले भने, ‘सर्लाहीमा पूर्वपश्चिम राजमार्ग जाम गरेपछि तीन दिनपछि रामेछाप, सिन्धुली हुँदै शव सर्लाही ल्याए हेलिकप्टरबाट।’
उनले आफूहरूलाई राजनीति गर्नु नपरेको तर बच्चा कसरी मारियो छानबिन होस् भनेर सर्वोच्चमा रिट हालेको बताए।
‘न्याय पाइएला कि’, उनले भने।
टीका आचार्य र हेम योन्जनले पनि एन्फाले एकेडेमी सुरक्षा गार्डको भरमा छोडेर जाँदा यस्तो भएको बताए। ४० खेलाडी एक सुरक्षा गार्डको भरमा छोडी बाहिरबाट ढोका लगाएर जिम्मेवार व्यक्ति एकेडेमीमा नबस्दा घटना भएको उनको दाबी छ।
‘घटना घटेपछि एकदिन भेट्न आएका थिए। किरियाको अन्तिम दिन चेक लिएर आएका रहेछन्,’ उनले भने, ‘हामीले लिँदैनौँ भनेर पठायौँ। त्यसपछि अहिलेसम्म मुख देखाउन आएका छैनन्।’
यता एन्फा प्रवक्ता सुरेश शाहसँग कुरा गर्दा उनले उकेरासँग ‘हाल यो विषयमा अदालतमा गएको छ, अदालतमा विचाराधीन विषयमा नबोल्ने’ भन्दै पन्छिए।
प्रधानमन्त्रीको बेवास्ता
पीडित परिवारले निष्पक्ष छानबिन आयोग बनाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसम्म पुगे। तर, उनीहरूले कुनै चासो नदिएको पीडित परिवारको गुनासो छ।
राज्यका जिम्मेवार निकाय र व्यक्ति नै गैरजिम्मेवार बनेपछि अदालतमा रिट दायर गर्नु परेको अभिभावक भरत बहादुर थापा बताउँछन्। पीडित परिवारले हालेको रिट सर्वोच्चमा विचाराधी छ।
‘हामी प्रधानमन्त्री, गृहमन्त्रीसम्म पुग्यौँ तर केही भएन अन्त्यमा अदालत गएका हौँ’, उनले भने।
असार २०, २०८२ शुक्रबार ०७:४३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।